काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफूलाई चुनावको पक्षमा उभ्याएका छन्।
जेनजीको आन्दोलनपछिको परिस्थितिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले कुनै पनि निहुँमा निर्वाचनलाई बिथोल्न दिन नहुने बताएका हुन्।
कुनै पनि निहुँमा निर्वाचनलाई बिथोल्ने र संविधानलाई असफल पार्ने सबै परिस्थितिको सामना गर्न सक्ने बलियो लोकतान्त्रिक शक्ति निर्माण गरेर मुलुकलाई निकास दिनुपर्छ’ भुसालको आह्वान छ।
गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। प्रतिनिधिसभाबाट अर्को सरकार बन्न सक्ने अवस्था बनेन। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए। प्रतिनिधिसभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ।
भुसालको नजरमा निर्वाचनभन्दा अगाडि नै संविधान संशोधनको मुद्दा उठाउनेहरूको स्वर चर्को हुँदै जानेछ। यस्तोमा तथाकथित परम्परा र राष्ट्रवादका नयाँ–पुराना शक्तिले सामाजिक लफङ्गाहरूलाई संगठित गर्ने प्रयास गर्ने छन्।
‘अनेकौं सामाजिक मुद्दा लिएर पपुलिष्ट तथा अराजकहरू सडकमा देखिन थाल्नेछ,’ यहाँनेर चुसालको चिन्ता छ, ‘सबै आफ्ना दाबीहरू जेनजीको भावना र मर्म हुन् भनेर अगाडि आउने छन्।’
यस्तो परिस्थितिमा आर्थिक गतिविधि ओरालो लाग्दै जान सक्ने, मध्यम र श्रमजीवी वर्गको दैनिक जीवन कष्टकर हुँदै जाने र त्यसले सामाजिक–सामुदायिक आक्रोशलाई तीव्र पार्न सक्नेछ।
यसो भए लोकतान्त्रिक पार्टीहरू कमजोर हुँदै जाने र बहुपक्षीय द्वन्द्व बढ्न थाल्ने उनको व्याख्या छ। उनी थप्छन्, ‘अराजनीतिक–आपराधिक समूह र प्रतिगामीहरूको स्वर बलियो हुँदै जान्छ, समाजमा भय र आतंकको विस्तार हुँदै जान्छ, भूराजनीतिक खेलहरू तीव्र हुँदै जानेछन्।’
नयाँ राजनीतिक परिस्थितिमा सरकारको नालायकी बढ्ने र निर्वाचन हुन नसक्ने परिस्थिति बन्दै गए मुलुक असफलतातर्फ जान सक्ने उनको चिन्ता छ। यसकारण पनि समयमै चुनाव हुनुपर्ने उनको मत छ।