काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि आफ्नो कार्यालयहरू खुला राख्ने भएको छ।
आज (आइतबार) आयोगले सार्वजनिक बिदाको दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म उजुरी दर्ता लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न कार्यालय सञ्चालन हुने जानकारी दिएको हो। यस अन्तर्गत आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरसहित प्रदेश र शाखा कार्यालयहरू समेत खुला रहने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, अपराधका घटना, महँगी र कालोबजारी बढ्ने सम्भावना रहने भएकाले यस अवधिमा शान्ति–सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने आयोगको भनाइ छ।
आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले शान्ति सुरक्षालाई मजबुत बनाउन र सेवा प्रवाह सहज बनाउन सबै सरोकारवालालाई सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन्।