काठमाडौँ– जेन जेड आन्दोलन क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहत निकायका ६० युनिट सवारी साधन जलेका छन्।
मन्त्रालयको प्रारम्भिक विवरण अनुसार सडक विभाग, मन्त्रालय परिसर, मन्त्री निवास र यातायात व्यवस्था विभागमा ती सवारीसाधनमा आगजनी भएको थियो। आगजनीबाट अधिकांश सवारी पूर्णरूपमा जलेका छन्।
दुई युनिट सवारी भने बेपत्ता छ। मन्त्रालयबाट निजी स्कुटर र सवारी समेत जलाइएको मन्त्रालयको विवरणमा देखिएको छ। यसरी क्षति पुर्याइएका सवारीमध्ये दुई पाङ्ग्रे २६ युनिट रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
अन्य जिन्सी सम्पत्तिमध्ये कर्मचारी प्रशासन शाखाबाट कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी, सोफासेट, पङ्खा र कोठाको झ्यालमा क्षति पुर्याइएको छ। यातायात व्यवस्था शाखाको शौचालयको झ्यालमा क्षति गरिएको छ।
चालक आराम कक्षमा पानी राख्ने टुलदेखि गलैँचासम्म क्षति गरिएको छ। अन्य क्षतिमा सचिव बैठक कोठाका झ्याल, मूल ढोका र झ्याल सेट, टहरो, ह्वाइठ बोर्ड, सोफा, टुलसहित दर्जनौँ वस्तु चोरी भएको, क्षति पुर्याइएको पाइएको मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ।