संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक - Chaitanya News
  • 2026-05-10
  • 05:15:04
  • शनिबार,बैशाख २६, २०८३
  • संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक

    संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक

    काठमाडौँ– संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ। हालै सार्वजनिक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन्।

    प्रतिनिधि सभाको छैटौँ अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई २०८२ साल भदौ २७ गते शुक्रबारसम्म रह्यो। यस अवधिमा १४१ दिन अधिवेशन चालु रह्यो। जसमध्ये ५९ दिनमा ६१ पटक बैठक बसेका थिए।

    यही भदौ २३ र २४ गते जेन जेडको प्रदर्शन भएको थियो। प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजीनामा दिए। प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने अवस्था बनेन। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेका छन्।

    यो सन्दर्भमा संसद् सचिवालयले प्रतिनिधि सभाको कामकारवाहीको विवरण सार्वजनिक गरेको हो।

    वर्षे अधिवेशन समेत लिइने छैटौँ अधिवेशनले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्‍यो। बजेट आश्रित विधेयकहरू पनि पारित गर्‍यो।

    उक्त अधिवेशनमा प्रतिनिधि सभामा १० वटा सरकारी विधेयक दर्ता भएको थियो। जसमध्ये ३ वटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भए, २ वटा विधेयक प्रतिनिधिसभाबाट पारित गरी राष्ट्रिय सभामा पठाइएको थियो। ४ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा थिए। नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथिको सैद्धान्तिक छलफल सकिएको थियो।

    सभाको अघिल्ला अधिवेशनहरू मार्फत प्राप्त १८ सरकारी र २ गैरसरकारी विधेयक मध्ये ४ वटा विधेयकहरू संघीय संसदबाट पारित भए।

    संघीय निजामती सेवा विधेयक र जलस्रोत विधेयक सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सभामा टेबुल भएको थियो।

    विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस भएको थियो। १० वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेका थिए र २ वटा गैरसरकारी विधेयक दर्ता मात्रको स्थितिमा रहेका थिए।

    राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सभामा टेबुल मात्र भएको थियो।

    राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको थियो।

    साथै अघिल्ला अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ७ वटा विधेयकहरू मध्ये शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, सभाबाट पारित गरी फिर्ता पठाइएको छ। बाँकी विधेयकहरू सम्बन्धित समितिमा विचाराधीन अवस्थामा थिए भने राष्ट्रिय मर्यादा सम्बन्धी विधेय सभामा प्रस्तुत मात्रको स्थितिमा रहेको थियो।

    प्रतिनिधिसभाको चालू अधिवेशनमा सदस्यहरूबाट दर्ता भएका विभिन्न मन्त्रालयसँग सम्बन्धित १७७ वटा मौखिक र १० वटा लिखित प्रपत्रहरू मध्ये १६४ वटा मौखिक प्रश्नहरू र ९ वटा लिखित पत्रको उत्तर प्राप्त भएका थिए।