‘चैतन्य कला–संस्कृति उत्सव’को चौथो शृङ्खला भव्य रूपमा सम्पन्न - Chaitanya News
  • 2025-11-08
  • 11:40:45
  • शनिबार,कार्तिक २३, २०८२
  • ‘चैतन्य कला–संस्कृति उत्सव’को चौथो शृङ्खला भव्य रूपमा सम्पन्न

    ‘चैतन्य कला–संस्कृति उत्सव’को चौथो शृङ्खला भव्य रूपमा सम्पन्न

    कैलाली – धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले आयोजना गरेको वडा दसैँको पावन अवसरमा ‘चैतन्य कला–संस्कृति उत्सव’को चौथो शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ। “कला संस्कृति हाम्रो पहिचान, मौलिकता हाम्रो सान” भन्ने नाराका साथ आयोजित यस उत्सवमा विविध सांस्कृतिक कार्यक्रमसहित विजयादशमी २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम समेत सम्पन्न भएको हो ।

    चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लोक बहादुर बिस्ट प्रेरक उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा ऐश्वर्या बहुमुखी क्याम्पसका सह–प्राध्यापक गोविन्द प्रसाद उपाध्याय, साथै पत्रकार तथा सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत सर्वाधिक रक्तदाता दीपक उपाध्यायको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रममा विजयादशमीको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले मौलिक संस्कृति संरक्षणमा टेवा पु¥याउने विश्वास रहेको प्रेरक उपस्थितिको रूपमा रहेका कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लोकबहादुर विष्टले बताए । उनले भने “म चैतन्य पाठशालाको अभिभावक पनि हो मलाई चैतन्य पाठशालाको अभिभावक हुनु गर्वको कुरा हो। मेरो छोरीलाई समेत चैतन्य पाठशालाले गर्ने हरेक कार्यक्रम तथा गतिविधिहरूमा उत्तिकै रुचि रहेको हुन्छ। चैतन्य पाठशालाले गर्ने विभिन्न क्रियाकलापहरूले विद्यार्थीहरूलाई विद्यालयप्रतिको रुचि देख्दा आफूलाई अझ खुसी लागेको छ। ”
    चैतन्य पाठशालाले अन्य विद्यालयभन्दा भिन्न ढङ्गले कला, संस्कृति र सभ्यताको विकास गरिरहेको उल्लेख गर्दै भविष्यमा अझ व्यवस्थित रूपमा अघि बढोस् भन्ने शुभकामना समेत व्यक्त गरे।

    उत्सवमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गायन तथा रमाइलो खेलहरू प्रस्तुत गरेका थिए। साथै, स्थानीय तथा मौलिक परिकारहरूको प्रदर्शनी र विज्ञान–प्रविधिसम्बन्धी सामाग्रीहरू समेत अवलोकनका लागि राखिएका थिए, जसले कार्यक्रमको आकर्षण अझ बढाएको थियो।

    त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य प्रस्तुत गर्दै पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले विद्यालय भनेको नितान्त रूपमा विद्यार्थीको दोस्रो घर रहेको र विद्यार्थीको विभिन्न सिकाकाई कुराहरूमा विद्यालयले सहजीकरण गर्दै आएको र अझ थप नयाँ ढङ्गबाट अगाडि बढिरहेको भनाइ व्यक्त गरे।

    कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमको सभापतित्व ग्रहण गरिरहनुभएका पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीले पाठशालाले अभिभावक केन्द्रित तथा विद्यार्थी केन्द्रित विभिन्न कार्यक्रमहरू समयमयमा गर्दै आएको र यस्ता कार्यक्रमहरूले विद्यालय विद्यार्थी र अभिभावक बीचको सम्बन्धलाई अझ सुमधुर बनाउँदै गएको भनाइ प्रस्तुत गरे।
    चैतन्य पाठशालाले आयोजना गरेको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिदिनु भएकोमा पाठशालाको तर्फबाट सम्पूर्णलाई धन्यवाद समेत प्रकट गरे ।