कर्मचारीको सेवा सुविधा एकरूपता गर्न बनेको पूर्व सचिवसहितको कार्यदलको म्याद ४५ दिन थप - Chaitanya News
  • 2026-05-17
  • 13:09:44
  • आइतबार,जेठ ०३, २०८३
  • कर्मचारीको सेवा सुविधा एकरूपता गर्न बनेको पूर्व सचिवसहितको कार्यदलको म्याद ४५ दिन थप

    कर्मचारीको सेवा सुविधा एकरूपता गर्न बनेको पूर्व सचिवसहितको कार्यदलको म्याद ४५ दिन थप

    काठमाडौँ– कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने उद्देश्यसहित पूर्व सचिव रामप्रसाद डोटेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्य अवधि ४५ दिन थप गरिएको छ।

    आज (शुक्रबार) सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

    उनका अनुसार राज्य कोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायतका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता ल्याउने सन्दर्भमा कार्यदलको म्याद थपिएको हो।

    मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका निकायमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको प्रवक्ता खरेलले बताए।

    यसैगरी, बैठकले नेपाली सेनाका नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने, तीन जना सहायक रथीको सरुवा गर्ने तथा दुई जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ।