काठमाडौँ– अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरूसँग बैठक सम्पन्न भएको छ।
स्थानीय विकास साझेदारहरूसँगको छलफल तथा अन्तरक्रिया आज असोज १० गते अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरूसँग बैठक छलफल भएको हो।
उक्त बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा विभिन्न देशका नेपाल स्थित राजदूतहरू, नेपाल स्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुका प्रमुख तथा प्रतिनिधिहरू, मिसनका प्रतिनिधिहरू र बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरूसँगै छलफल तथा अन्तरक्रिया भएको छ।
उक्त बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विकास साझेदारहरूले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउदै आएकोमा धन्यवाद दिँदै वर्तमान सरकारका तत्कालका प्राथमिकताहरू प्रकाश पारे।
साथै, नेपालमा हाल भएको परिवर्तन पश्चात् गठित अन्तरिम सरकार युवाहरूको चाहना अनुरूप पारदर्शिता, जबाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिबद्ध रहेको बताए।
आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमवाट पुनर्निर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रम लाई तीव्रता दिइने उल्लेख गरे।
कार्यक्रममा विकास साझेदारहरूको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरू, भारत र नर्वेका प्रतिनिधिहरू, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाई राख्दै नेपालको वर्तमान अवस्था प्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रम प्रति सहमति जनाए। विकास साझेदारहरूले चालू रहेका आयोजनाहरूलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गरे।