काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
यस्तै, आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
यसैगरी महाशाखाका अनुसार, आज दिउँसो देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।