काठमाडौँ– नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताएका छन्।
नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पद त्यागेको उल्लेख गर्दै उनले भने, “म कुनै आन्दोलनबाट अलग भएको होइन। देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु, र भोलि पनि निरन्तर रहनेछु।”
बिहीबार पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले जेन–जेड युवा आन्दोलनलाई जायज भन्दै समर्थन जनाएका छन्। साथै, उनले आगामी निर्वाचनअघि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए। “यदि कारबाही भएन भने, फेरि पनि भ्रष्ट नेताहरू नै निर्वाचित भएर आउँछन्,” भट्टराईको भनाइ छ।