साफ यू–१७ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दै - Chaitanya News
  • 2026-09-27
  • 18:50:36
  • आइतबार,आश्विन ११, २०८३
  • साफ यू–१७ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दै

    साफ यू–१७ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दै

    काठमाडौँ– जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल भारतसँग भिड्दै छ । कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुदैछ।

    त्यस्तै आजै पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान खेल्दैछन्। यो खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखि शुरु हुदैछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ।

    नेपाल समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो। नेपालले समुह चरणमा खेलेका २ खेलमा एक खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४–० ले हार बेहोरेको थियो।

    त्यस्तै भारत भने समुह बी मा अपराजित हुदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो। भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले पराजित गरेको थियो भने भुटानलाई १–० ले र पाकिस्तानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो।

    साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन्। त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन्।