आज नवरात्रको सातौं दिन, कालरात्रि देवीको पूजा गरिँदै - Chaitanya News
  • 2026-05-17
  • 12:07:33
  • आइतबार,जेठ ०३, २०८३
  • आज नवरात्रको सातौं दिन, कालरात्रि देवीको पूजा गरिँदै

    आज नवरात्रको सातौं दिन, कालरात्रि देवीको पूजा गरिँदै

    काठमाडौं– आज नवरात्रको सातौं दिन । आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ।

    प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ। कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। नवरात्रको सातौं दिन आज पूजा कोठा वा दशैं घरमा फूलपाती पनि भित्राइँदै छ।

    नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थिय ।

    दोस्रो दिन असोज ७ गते मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो। चौँथो दिन ९ गते बिहिबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरियो। भने छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरियो ।

    सातौं दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन्।