काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् ।
बिहान बसेको बैठकले स्थापनइतर समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
स्रोतकाअनुसार नेता डा. शेखर कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो ।
यो सहमतिपछि अब कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच भिडन्त हुने भएको छ ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि ५१ हजार शुल्क तोकेको छ ।
कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरि ८९ सांसद छन्, जसले संसदीय दलको नेताका लागि मतदान गर्ने छन् ।
बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।