काठमाडौं– तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए।
एसपी पुरीले भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ। सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ। जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन।’
सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ।
यसविषयमा निर्णय लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको बैठक अहिले बसिरहेको एसपी पुरीले बताए।
सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए।
पहिरो निरन्तर खसिरहेकोले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको उनले बताए।