काठमाडौंबाट पश्चिम जाने वैकल्पिक सडकको हरिबिजोग, गाडीलाई ठेल्नुपर्ने बाध्यता - Chaitanya News
  • 2026-11-08
  • 09:40:50
  • आइतबार,कार्तिक २३, २०८३
  • काठमाडौंबाट पश्चिम जाने वैकल्पिक सडकको हरिबिजोग, गाडीलाई ठेल्नुपर्ने बाध्यता

    काठमाडौंबाट पश्चिम जाने वैकल्पिक सडकको हरिबिजोग, गाडीलाई ठेल्नुपर्ने बाध्यता

    काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरोले सडकमा सवारीसाधनको लामो जाम छ। काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने सवारीसाधनहरूको जाम लागेको हो। जसका कारण सयौं यात्रुहरू अलपत्र परेका छन्।

    प्रहरीले उक्त सुक्खा पहिरो छल्नका लागि तीन वटा वैकल्पिक सडक प्रयोग गर्न भनेको छ। जसमध्ये धादिङको मलेखु (फुर्के खोला)बाट सल्यानटार, गोरखाको आरुघाट हुँदै तनहुँको आँबुखैरेनी निस्किने एउटा वैकल्पिक सडक हो। पश्चिम जाने र पश्चिमबाट आउने सवारीसाधनहरूलाई यो वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ। जसका कारण यो सडकमा अहिले सवारीसाधनको चाप बढेको छ।

    तर यो सडकखण्ड अन्तर्गत सल्यानटार(आरुघाटको कच्ची सडकमा खाल्डाखुल्डी भएका कारण यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ।

    झन्डै २ किलोमिटर कच्ची सडकको अवस्था नाजुक भएका कारण यात्रुहरूले गाडी धकेलेर हिँड्नु परेको यात्रुहरूले गुनासो गरेका छन्।

    कच्ची सडकको जताततै ठूलाठूला खाल्डाखुल्डी भएका कारण यो चर्को घाममा यात्रुहरू पैदल हिंड्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।

    वैकल्पिक सडक प्रयोग गर्न भनिए पनि सडकमा गाडी गुड्न सक्ने नसक्ने अवस्थाबारे पूर्वतयारी नगरी सयौं गाडीहरू गुड्न दिइएको गाडी चालक सुजन तामाङको गुनासो छ।

    तत्काल सडकमा देखिएका खाल्डाखुल्डी नपुर्ने हो भने गाडी गुडाउनै नसक्ने अवस्था आउने उनको भनाइ छ।

    यो सडक प्रयोग गरी आँबुखैरेनी निस्किएपछि पोखरा–पाल्पा हुँदै बुटवलबाट पश्चिम जान सकिन्छ। आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ पनि निस्किन सकिन्छ। मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ।

    यद्यपि तुइन खोलानेर पहिरोको जोखिम भने कायमै छ।