काठमाडौं – प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको सपथग्रहण पुस ७ गते बिहीबार हुँदैछ । नव निर्वाचित सांसदहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद समेत रहेका पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने भएका छन् ।
जबरा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्दा झण्डै दुई महिनाले जेठो भएकाले जबराले सपथ गराउने भएका हुन् । जबराभन्दा केसी एक महिना २६ दिनले कान्छो हुन् ।
संघीय संसद सचिवालयले जबरा र केसीको नगरिकताको अध्ययन गरेको थियो । संसद सचिवालयले सपथ गराउने ज्येष्ठ नागरिकको टुंगो लगाउँदै राष्ट्रपति कार्यालयलाई पत्र पठाएको छ ।
सचिवालयले जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउने व्यवस्थाका लागि अनुरोधसहित पत्र लेखेको हो । जबरालाई बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पहिला सपथ गराउने छिन् । राष्ट्रपतिबाट सपथ लिएपछि जबराले अन्य सांसदलाई सपथ गराउने छन् ।