काठमाडौँ– आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एकपछि अर्को गर्दै सुनको मूल्य वृद्धि भइरहेको छ। मूल्य वृद्धिको क्रममा मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो।
जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो।
आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो। उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो।