सेयर बजार १११.७० अंकले बढ्यो - Chaitanya News
  • 2026-05-28
  • 22:16:29
  • बिहिबार,जेठ १४, २०८३
  • काठमाडौँ– साताको पहिलो दिन आज (आइतबार) सेयर बजार १११.७० अंकले बढेको छ। आज बजारमा उतारचढावबिच सो बराबरको वृद्धि देखिएको हो। योसँगै बजार परिसूचक २६२३.६२ अंकमा पुगेको छ।

    अघिल्लो दिन अर्थात् बिहीबार बजार परिसूचक नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको थियो। आइतबार सुरुमा उतारचढाव देखिएको बजार मध्यान्हपछि निरन्तर बढ्दै जाँदा उच्च वृद्धिसहित बन्द भएको हो।

    बिहीबारको गिरावटपछि सरकारले पुँजी बजारबारे अध्ययन गर्न दुई वटा काम गरेको थियो। पहिलो पुँजी बजारमा देखिएको विकृति अन्त्य गर्न सुझाव दिन भन्दै कार्यदल बनाएको थियो भने अर्कोतिर नेपाल स्टक एक्सचेन्जको अन्तिम मूल्य निर्धारण प्रणालीमा संशोधन गर्ने निर्णय गरेको थियो। दिनभरको कारोबारले उक्त निर्णयको सकारात्मक प्रभाव रहेको देखाएको छ।

    आज बजारमा ९ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज निर्जीवन बिमा र म्युचुअल फन्डबाहेक सबै सूचक बढेका छन्। निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै ३.५३ प्रतिशत मूल्य घटेको छ भने ट्रेडिङ समूहमा सबैभन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ।

    त्यस्तै, इन्भेस्टमेन्ट समूहमा ७.७७ प्रतिशत, विकास बैंकमा ६.३४ प्रतिशत, फाइनान्स समूहमा ६ प्रतिशत, हाइड्रो समूहमा ५.९८ प्रतिशत तथा जीवन बिमा समूहमा ५.९३ प्रतिशत वृद्धि भएको छ।

    त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ४.८६ प्रतिशत, बैंकिङमा ४.७६ प्रतिशत तथा माइक्रो फाइनान्समा ४.०३ प्रतिशत मूल्य बढेको छ। बजारमा आज १६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

    सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडबिल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ।

    आज बजारमा सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो। उक्त कम्पनीको ८३ करोडको कारोबार हुँदा दोस्रोमा रहेको हिमालयन रिइन्स्योरेन्सको ४८ करोड बराबरको कारोबार भयो।