काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आक्रोश व्यक्त गरेका छन्।
उनीहरूले अहिले पार्टीको नेतृत्व परिवर्तनको समय रहेको र विशेष महाधिवेशनको माग गरिरहेका बेला डा.महतले पत्रकार सम्मेलन गर्दै यस्तो आक्रोश व्यक्त गरेका हुन्।
“हाम्रो सभापति लोकतन्त्रको लामो लडाइँ लड्नुभयो। उहाँमाथि त्रासदीपूर्ण आक्रमण भयो। कतिपय जिम्मेवार साथीहरू आक्रमण भएको उपचार पूर्ण नभएको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुखको कुरा हो,” उनले भने, “आलो घाउ ठिक नहुँदै सुरु भएको बहसप्रति गम्भीर छौँ। अहिले एक हुने बेला हो। एक भएर कमी कमजोरी पनि हटाउने सकिँदैन र ? जुन बेलामा घाउ लागेको छ, घाउमा नुन छर्ने प्रवृत्ति गलत हो।”
उनले २३ गतेभन्दा चार दिन अघिसम्म त्यही सभापतिका नजिक अहिले विरोध गरिरहेका नेताहरू नै रहेको धारणासमेत राखे
“२३ गतेको चार दिन अघिसम्म त्यही सभापति अत्यन्त ठिक हुने। हामी त बरु अलि टाढा लागौँला। जुन साथीहरूले अहिले प्रश्न उठाउनुभएको छ। नेतृत्व परिवर्तनको कुरा गर्नुभएको छ। उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो,” उनले भने, “उहाँहरूको उठबसलाई राम्रोसँग हेर्ने हो भने उहाँहरू नजिक हुनुहुन्थ्यो। हामीले भनेका थियौँ। कतिपय कुरा ठिक छैनन्। नयाँ परिस्थिति बन्ने बित्तिकै अब एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नहुँदै आकाश नै झर्छ ? पार्टीको केन्द्रीय समिति छ, संरचना छ। कसरी भयो, किन भयोरु त्यसको मूल्यांकन पनि गर्छौँ। तर त्यसको लागि पनि नपर्खिने ?”