काठमाडौं– जेनजी प्रदर्शनपछि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी सेट परिवर्तन गरिएको छ।
गृहमन्त्रीस्तरीय निर्णयबाट बिहीबार मात्रै परिसरका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको एकल काज सरुवा गरिएको छ। प्रदर्शनमा राम्रो सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप उनी आठ महिना नपुग्दै जिम्मेवारीबाट हटाइए।
उनले गत माघको दोस्रो साता मात्रै परिसरको कमाण्ड सम्हालेका थिए। राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दा काठमाडौं एसएसपीको कमाण्ड पनि उनैले गरेका थिए। त्यतिबेला पनि ठूलो सुरक्षा चुक भएको थियो। सुरक्षाकर्मीले राम्रोसँग चुनौती विश्लेषण गर्दै सुरक्षा योजना बनाउन नसकेको आरोप लागेको थियो।
अहिले एसएसपी अधिकारीको ठाउँमा अर्थात परिसर काठमाडौंको कमाण्डमा एसएसपी रमेश थापालाई ल्याइएको छ। थापा प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा थिए। उनी प्रहरीमा इमान्दार अधिकृतको रुपमा चिनिन्छन्। उनले यअसघि जिल्ला प्रहरी कार्यालय उदयपुर, कास्कीको प्रमुख भएर कमाण्ड गरिसकेका छन्।
एसएसपी अधिकारीमात्रै होइन परिसरका एसपी, डीएसपीहरूको पनि सरुवा गरिएको छ। परिसरका एसपीद्वय अपील राज बोहरा र कुलदीप चन्दको पनि सरुवा गरिएको छ। बोहराको सशस्त्र प्रहरी गण नं. १ नक्सालमा सरुवा गरिएको छ।
एसपी चन्दको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ। अहिले परिसरमा जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत रहेका एसपी पवन कुमार भट्टराईलाई ल्याइएको छ। उनी अपरेशन कमाण्डमा दख्खल अधिकृतको रुपमा चिनिन्छन्। यसअघि परिसरमा दुई जना एसपी राखिएकोमा अहिले भने एक जना मात्रै खटाइएको छ।
त्यसैगरी सिभिलको इन्चार्जको रुपमा परिसरमा खटिएका प्रह्लाद कार्की, डीएसपी मोहनमणि अधिकारी र अपरेशन कमाण्ड सुन्दर तिवारीको पनि परिसरबाट सरुवा गरिएको छ।
डीएसपी मोहनमणि अधिकारीलाई प्रहरी वृत्त स्वम्भूको इन्चार्जको रुपमा सरुवा गरिएको छ। तिवारीलाई साइबर ब्यूरो पठाइएको छ। डीएसपी कार्कीलाई नगर प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएको छ।