काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रिक्त पदमा लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीलाई नियुक्त गर्न माग गरिएको छ।
प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै लोक सेवा आयोग महेन्द्रनगरका कम्प्युटर अपरेटर अनिल चन्दले मैनालीलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्न आग्रह गरेका हुन्।
मैनाली दीर्घ अनुभव, प्रशासनिक दक्षता र स्वच्छ छविका धनी व्यक्तित्व भएकाले उनले देशको लोक सेवा व्यवस्थापन, सुशासन प्रवर्द्धन, पारदर्शिता र दक्ष प्रशासनिक संरचना निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको पत्रमा उल्लेख छ।
चन्दले पत्रमार्फत लेखेका छन्, “उमेशप्रसाद मैनालीज्यूको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयले अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास गर्न सकिन्छ। हाल जेनजेड आन्दोलनका कारण रिक्त रहेको सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी उहाँलाई दिनु उपयुक्त हुनेछ।”
जेन जेड आन्दोलनपछि विभिन्न क्षेत्रबाट समाजमा स्वच्छ छवि भएका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने आवाज उठिरहेको छ। यही सन्दर्भमा ‘स्थायी सरकार’ भनिने कर्मचारीको अभिभावक मन्त्रालय मानिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुभवी र इमान्दार मन्त्रीको अपेक्षा स्वयं कर्मचारीहरूले नै गर्दै आएका छन्।”
![]()