कांग्रेस संसदीय दलमा संस्थापन इतरबाट एउटै उम्मेदवार बनाउने प्रयास - Chaitanya News
  • 2026-04-25
  • 17:48:37
  • शनिबार,बैशाख १२, २०८३
  • कांग्रेस संसदीय दलमा संस्थापन इतरबाट एउटै उम्मेदवार बनाउने प्रयास

    कांग्रेस संसदीय दलमा संस्थापन इतरबाट एउटै उम्मेदवार बनाउने प्रयास

    काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनको आज मनोनयन दर्ता हुदै छ । आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३: ३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३: ३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ । दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५: ४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

    संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ गरि कुल ८९ सांसद मतदाता छन् ।

    संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ । तर, पछिल्लो पटक नेता शेखर कोइराला पनि चुनाव लड्न अगाडी सरेपछि संस्थापन इतर समुहमा को उम्मेदवार बन्ने भन्ने बारेमा विवाद देखिएको छ । यद्यपी नेताहरुले देउवाविरुद्ध एक मात्र उम्मेदवार दिनुपर्नेमा पहल गरिरहेको बताएका छन् । सोमबार भएका छलफलमा डा. शेखर कोइराला र गगन थापा मध्ये को उम्मेदवार हुने भन्ने विषय निष्कर्षमा पुग्न नसकेपछि अहिले पनि छलफल जारी रहेको छ ।

    गगन थापाले निर्वाचनकै समयमा आफु संसदीय दलको नेतामा लड्ने भनेर मत मागेकाले उनी पछि हट्ने सम्भावना कम देखिएको उनी निकट नेताहरु बताउछन् । त्यस्तै कोइराला संस्थापन इतरको नेता भएकाले उनले गगनलाई अहिले छोड्दा आगामी महाधिवेशनमा पनि संस्थापन इतरको नेता हुने अवसर बन्चित हुन सक्ने डर उनलाई रहेको छ ।

    यद्यपी सार्बजनिक रुपमा कोइरालाले संसदीय दलको नेतामा लड्ने बारे अहिलेसम्म बताएका छैनन् । कोइरालाले अहिलेसम्म गगन थापालाई संसदीय दलको नेतामा समर्थन गर्ने वा आफै लड्ने बारेमा स्पष्ट गरेका छैनन् । अहिले संस्थापन इतरका धेरै नेताहरु संसदीय दलमा गगनलाई छोडेर आगामी महाधिवेशनमा शेखरलै नै उम्मेदवार बनाउने सहमति गर्न लागिरहेका छन् । गत वर्ष सम्पन्न महाधिवेशनमा पनि कोइराला र थापा एउटै समूहबाट चुनाव लडेका थिए ।

    अहिले कांग्रेसको ८९ सदस्यीय संसदीय दलमा सभापति देउवा स्पष्ट बहुमतमा देखिएकाले संस्थापन इतरबाट दुई उम्मेदवार बन्द लज्जास्पद अवस्था सिर्जना हुने भन्दै एक उम्मेदवार बनाएर देउवालाई चुनौती दिनुपर्नेमा नेताहरु छलफलमा रहेको बताएका छन् । एक उम्मेदवार हुदा देउवालाई जित्न नसकेपनि सम्मानजनक पट आउने संस्थापन इतरका नेताहरुको भनाई छ ।