‘क्षति हेरेर निराश हुने छुट छैन, धुलो टकटकाएर उठौँ’ : अध्यक्ष ‘प्रचण्ड’ - Chaitanya News
  • 2026-05-10
  • 07:15:59
  • आइतबार,बैशाख २७, २०८३
  • ‘क्षति हेरेर निराश हुने छुट छैन, धुलो टकटकाएर उठौँ’ : अध्यक्ष ‘प्रचण्ड’

    ‘क्षति हेरेर निराश हुने छुट छैन, धुलो टकटकाएर उठौँ’ : अध्यक्ष ‘प्रचण्ड’

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलनका क्रममा भएको क्षतिलाई हेरेर निराश हुने छुट नभएको भन्दै धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउने बेला भएको बताएका छन्।

    आज (बिहीबार) एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन्।

    उनले भने, ‘हामी यतिखेर ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा छौँ। २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ। यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन। धुलो टकटक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ।‘

    अध्यक्ष ‘प्रचण्ड’ले उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न पार्टी पङ्क्ति र जनसमुदायलाई हार्दिक आह्वान समेत गरे।

    उनले अगाडि भने, ‘देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनु पर्दछ।’

    २३ र २४ भदौमा भएका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग समेत गरेका छन्।