काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार बिहान हुने भएको छ । संसदीय दलको नेता चयन गर्ने निर्वाचन समितिको सोमबार बिहान बसेको बैठकले बुधबार निर्वाचन गर्ने तयारी शुरु गरेको हो ।
आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।
संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रियामा जानुपर्ने व्यवस्था रहेको छ । कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् । त्यस्तै नेता शेखर कोइराला पनि दलको चुनाव लड्न सक्ने बताइए पनि कोइरालाले अहिलेसम्म उम्मेदवारी घोषणा भने गरेका छैनन् ।
संसदीय दलको नेता चयन गर्ने चुनावमा प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित ८९ सांसद मतदाता हुने व्यवस्था रहेको छ ।