काठमाडौं – कैलालीमा सुनचाँदी व्यवसाय गर्दै आएका एकजना व्यवसायीमाथि गोली प्रहार भएको छ ।
आइतबार बेलुकी सुनचाँदी व्यवसायी विकास सुनारमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सोमन्द्र राठौरले बताए । पसल बन्द गरेर घर जाँदै गर्दा अत्तरिया बजारको पूर्व रोडमा करिब ७ बजेर २० मिनेटमा गोली प्रहार भएको हो । घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखड बजारमा बस्दै आएका करिब २८ वर्षिय सुनार अत्तरियामा व्यवसाय गर्दै आएका थिए ।
पसल बन्द गरेर अत्तरिया बजारबाट पूर्वतर्फ जाँदै गरेका उनलाई पूर्वबाट पश्चिमतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट सुनारको दाहिने हात र ढाडमा चोट लागेको छ ।
अत्तरियाको पद्मा अस्पतालमा उपचारका लागि लगिएका उनलाई थप उपचारका लागि भने धनगढीस्थित मायामेट्रो अस्पतालमा रेफर गरिएको छ । गोली प्रहार भएको स्थान सशस्त्र प्रहरी बलको कार्यालय नजिकै रहेको छ ।