काठमाडौँ – नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा गठिन समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिको बैठकले दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले भनेका थिए- बुधबारसम्म संसदीय दलको नेताका लागि चुनाव हुन्छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन सम्पन्न गर्न समिति गठन गरेसँगै अब कांग्रेसमा दलको नेता को बन्ला भन्ने चासो बढेको छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्री हुने उल्लेख छ ।
अहिलेसम्म कांग्रेसमा दलको नेताका आकांक्षीमा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री थापा मात्र देखिएका छन् । नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री बन्ने इच्छा राखे पनि दलको नेताका विषयमा केही बाेलेका छैनन् । त्यसैले चुनाव हुने दिनसम्म कोइरालाले कसलाई समर्थन गर्लान् भन्ने चासो देखिएको छ ।
संस्थापन इतर समूहमा कोइराला र महामन्त्री थापामध्ये एकजनालाई दलको नेता बनाउने प्रयास भइरहेको छ । तर, कोइरालाले आगामी महाधिवेशनमा सभापतिको चाहना राखेकाले यसपटक दलको नेतामा नउठ्ने बताइन्छ । तर उनले महामन्त्री थापालाई समर्थन गर्ने कि नगर्ने भन्ने खुलिसकेको छैन ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री हुने इच्छा राखेका छन् । उनले केही दिन अघि मात्र बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटघाट गरेका थिए । भावी राष्ट्रपतिमा पनि उनको नाम चर्चामा छ । कांग्रेस भित्रैबाट राष्ट्रपति भए उनको प्रबल सम्भावना रहेको कांग्रेसकै नेताहरुले बताउने गरेका छन् । तर, गठबन्धनबीच भागबण्डा हुँदा राष्ट्रपति अर्को दलको भागमा पर्ने उनीहरु स्वीकार्छन् ।
स्रोतका अनुसार कोइरालालाई प्रधानमन्त्री देउवाले नयाँ सरकारमा परराष्ट्रमन्त्रीको अफर गरेका छन् । सोही कारण कोइराला यसपटक दलको नेतामा देउवातिर खुल्ने सम्भावना धेरै रहेको नेताहरूको अनुमान छ । गत वर्ष सम्पन्न महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट चुनावमा गएका थिए । कोइराला सभापतिमा पराजित भए भने थापा महामन्त्रीमा अत्यधिक मतका साथ विजयी भए ।
यदि कोइरालाले थापालाई समर्थन नगरे कांग्रेस संसदीय दलको नेतामा देउवा नै भारी बहुमतका साथ विजयी हुने अनुमान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकारको दाबी गर्न १० पुससम्मको समय दिएकी छन् ।