काठमाडौं– नेपाली कांग्रेसले चाँडै संसदीय दलको निर्वाचन टुङ्ग्याउने बताएको छ।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूले प्रमाणपत्र ग्रहण गरेलगत्तै संसदीय दलको निर्वाचन सक्ने बताउँदै आएको कांग्रेसले मंगलबारभित्र निर्वाचन गरिसक्ने बताएको छ। प्रवक्ता डा. प्रकाशशरण महतले नेपालभ्यूजसँग भने, ‘समानुपातिक सांसदहरूले प्रमाणपत्र लिइसकेका छन्। अब चाँडै संसदीय दलको निर्वाचन टुङग्याउँछौँ।’
कहिले हुन्छ निर्वाचन? भन्ने जिज्ञासामा उनले भने, ‘सकेसम्म भोलि, भोलि सम्भव नदेखिए पर्सिसम्म त सक्छौँ।’
आज अपराह्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दैछ। उक्त बैठकले यस विषयमा छलफल गर्ने र आधिकारिक निर्णय लिने प्रवक्ता महतले बताएका छन्। ‘कार्यसम्पादन समितिको बैठक बस्दैछ, त्यो बैठकले वैधानिक निर्णय लिन्छ र त्यहीअनुसार संसदीय निर्वाचन हुन्छ।’
यद्यपि पार्टी नेतृत्व र पार्टी(पङ्कि चाँडै संसदीय दलको निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने पक्षमा रहेको प्रवक्ता महत बताउँछन्। ‘सभापतिजी र अन्य पदाधिकारीहरू र सांसदहरूले पनि चाँडै संसदीय दलको निर्वाचन हुनुपर्छ भनेर भनिरहनुभएको छ,’ उनले भने, ‘अब यहीअनुसार चाँडै सकाउँदैछौँ। सम्भव भए त भोलि नै सक्छौँ।’
तर, संसदीय दलको नेताका आकांक्षी धेरै हुँदा राजनीतिक व्यवस्थापनमा भने सकस हुने आकलन गरिएको छ। कांग्रेस संसदीय दलको नेताका आकांक्षीहरूमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहलगायत छन्।
तर, अन्तिममा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनसक्ने विश्लेषणहरू भइरहेका छन्।