काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिवसहित ९७ शाखा जना अधिकृतको सरुवा गरेको छ।
तीमध्ये अधिकांशलाई पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। यससँगै गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको मन्त्री भगवती न्यौपानेको दाबी छ।
‘स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ,’ मन्त्री न्यौपानेले भनेकी छन्।
यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए। ती सबै स्थानीय तहहरुमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृतहरु खटाइएकाले पूर्णजिम्मेवारी सहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको मन्त्री न्यौपानेले बताइन्।
मन्त्री न्यौपानेले भनेकी छन्, ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए। आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहीन बनाइएको छ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरु बाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। त्यसक्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ।
‘मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु। देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो,’ मन्त्री न्यौपानेले भनिन्, ‘जिम्मेवारीमा खटिएका कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न आग्रह गर्छु।
दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतस् रद्ध भएको मन्त्रालयले जनाएको छ।
सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुनेमध्ये ९ वटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा समेत छिट्टै दरबन्दी अनुसारको कर्मचारी खटाउने मन्त्रालयले जनाएको छ।