काठमाडौं– न्याय सेवाको न्याय–कानुन – सरकारी वकिल समूहको शाखा अधिकृत वा सो सरहको पदमा नियुक्तिका लागि लोक सेवा आयोगबाट सिफारिस भएका ४४ जनामध्ये अधिकांश महिला परेका छन्। ४४ जनामा ३८ जना महिला र ६ जना पुरुष छन्।
लोक सेवा आयोगको विज्ञापन नम्बर १६६९४–०८१–८२(खुला)तर्फ ४४ शाखा अधिकृत माग भएको थियो। लिखित परीक्षा दिएर पास भएका ६४ जनाको यही भदौ ४ गतेदेखि १२ गतेसम्म भएको अन्तर्वार्तामा ६३ जना सहभागी भएका थिए। उनीहरुको लिखित, सामूहिक परीक्षण, सूचना प्रविधि सिप परीक्षण र अन्तर्वार्तामा पाएको नम्बर समेत जोडेर सबैभन्दा धेरै अंक प्राप्त गरेकामध्ये ४४ जना नियुक्तिका लागि सिफारिस भएका हुन्।
लोक सेवा आयोगको भदौ १२ गते बसेको बैठकले न्याय र कानुन समूहका उम्मेदवारहरुलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सरकारी वकिल समूहका उम्मेदवारहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ।
११ जना वैकल्पिक योग्यताक्रमको सूचीमा र १० जना अस्थायी योग्यताक्रमको सूचीमा परेका छन्।