रुपन्देही – नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन।
आज आइतवार बुटवलमा पत्रकारसँग कुरा गर्दै सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताए। उनले आफूहरू जनमतको विपरीत सरकार निर्माणका लागि अवाञ्छित र गैरसंसदीय गतिविधि नगर्ने बताए। एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडि नहट्ने उनको भनाइ थियो।
सचिव विष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहना विरुद्धका काम नगर्ने बताए। सरकार बनाउनका लागि एमालेललाई हतारो नभएको उनले उल्लेख गरे।
उनले भने – ‘हामी प्रतिपक्षमा बस्नका लागि जनताले स्थान प्रदान गरेका छन। हामी सरकार निर्माणका लागि अवाञ्छित गतिविधि गर्ने गैरसंसदीय, गैरलोकतान्त्रिक, अशोभनीय काम गर्दैनौँ। चाहे एमाले सरकारमा रहँदा होस्, चाहे प्रतिपक्षमा रहँदा होस् लोकतन्त्र, संसदीय अभ्यास, जनताका अपेक्षालाई सम्मान गर्ने गरि लोकतन्त्रको मर्यादा र गरिमालाई माथि उठाउने गरि भूमिका निर्वाह गर्छ। हामीले घोषणामार्फत जनताको जीवनलाई परिवर्तन गर्नेदेखि देशलाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका छौँ। यदि आवश्यकता महसुस भयो भने, जिम्मेवारी लिने बाध्यता भयो भने एमाले जुनसुकै प्रकारको जिम्मेवारीसहित अगाडि बढ्न पनि पछि पर्दैन। तर सरकार बनाउने नाममा अवाञ्छित गतिविधि, गैरसंसदीय गतिविधि गर्दैन। त्यो प्रकारको बाटोमा एमाले हिँड्दैन। यस कारण सरकार निर्माणका लागि हामीलाई हतारो छैन। हामीलाई त्यो गर्नु छैन।
सचिव विष्टले एमालेलाई कमजोर बनाउनका लागि गएको चुनावमा वामपन्थीहरूले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेको दाबी गरे। उनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको पनि जिकिर गरे।