टप एन्ड टी–२० सिरिज: नेपालको पहिलो जित - Chaitanya News
  • 2026-06-05
  • 20:52:13
  • शुक्रबार,जेठ २२, २०८३
  • टप एन्ड टी–२० सिरिज: नेपालको पहिलो जित

    टप एन्ड टी–२० सिरिज: नेपालको पहिलो जित

    काठमाडौं– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ। आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो।

    नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो। नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १–१ विकेट लिए।

    होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रन बनाउँदा जेन कर्टेन २० रनमा नटआउट रहे।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाए। लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे

    नेपालले अतिरिक्त ३२ रन पाएको थियो। होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिएर २ विकेट लिए। राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १–१ विकेट हात पारे।

    यसअघिका ३ वटै खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो।

    नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग तथा तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो।

    नेपालले यसपछि भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।