काठमाडौँ– आज २०८१ साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा श्रद्धालुको भीड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्।
साउनको सोमबार भगवान् शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको बिहानैदेखि घुइँचो छ।
काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरूको घुइँचो लागेको छ।