काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट तीन तरिकाबाट शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव पारित भएको छ।
आज (बिहीबार) सिंहदरबारस्थित समिति सचिवालयमा बसेको बैठकले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो। समिति बैठकमा मन्त्रालयका सचिव चूडामणि पौडेलले पेस गरेको आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनबाट बढुवा गर्ने प्रस्ताव समिति बैठकबाट पारित भएको हो।
सचिव पौडेलले आधारभूत तहका तृतीय श्रेणीका शिक्षक शतप्रतिशत खुला प्रतियोगिताबाट बढुवा गर्ने, दृतिय श्रेणीका शिक्षक आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४० प्रतिशत बढुवा हुने प्रस्ताव गरेका थिए।
प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४५ प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४५ प्रतिशत शिक्षक बढुवा हुने प्रस्ताव गरेका थिए।
त्यस्तै माध्यमिक तहको तृतीय श्रेणीमा खुला प्रतियोगिताबाट ८० प्रतिशत र आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत बढुवा गर्ने प्रस्ताव पनि मन्त्रालयले गरेको थियो। सो तहको दृतिय श्रेणीमा आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४० प्रतिशत बढुवा गर्ने प्रस्ताव मन्त्रालयको थियो।
माध्यमिक तहको प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४५ प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४५ प्रतिशत शिक्षक बढुवा गर्ने मन्त्रालयको प्रस्ताव समितिबाट पास भएको हो। शिक्षक बढुवासम्बन्धी प्रस्ताव पारित गर्न गरेको प्रस्ताव समिति सदस्यहरूले ताली बजाएर अनुमोदन गरेका छन्।