काठमाडौँ– कर्णाली प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्यदेखि लिएर पत्रकारिता पुरस्कारसम्मका विषयमा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच महत्त्वपूर्ण निर्णयहरू गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री विनोदकुमार शाहका अनुसार बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन साउन २१ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
त्यसै गरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलक राज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा कागजमा खटाउने निर्णय गरिएको छ।
सर्वोच्च अदालतको परमादेश (मिति २०८२ जेठ ७) अनुसार, जाजरकोटको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ४ लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।
यससँगै, पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ। प्रदेश सरकारका अनुसार सो कार्यविधिका आधारमा आगामी दिनमा पत्रकारिता क्षेत्रका श्रम र योगदानलाई मूल्यांकन गरी पुरस्कार प्रदान गरिनेछ।
साथै, प्रदेशका कार्यालयहरूमा सूचनाको हक कार्यान्वयन भएरनभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।