काठमाडौँ– न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने भएको छ । हिजो पनि देशभर बदली भई ठाउँ ठाउँमा वर्षा भएको थियो भने यो क्रम आज आइतबारदेखि झन् बढ्ने भएको हो ।
आजदेखि न्यून चापीय रेखा उत्तरतर्फ गएकाले तराईमा समेत वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।
वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्ने मौसमविद् कँडेलले बताइन्। अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए। महाशाखाले राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकार भएका निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले आज साँझ बुलेटिनमार्फत सार्वजनिक अनुरोध गरेको छ।
तराई क्षेत्रमा आज रातिदेखि साधारणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्। उनका अनुसार आइतबार कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। सोमबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ।
पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ८२ दशमलव आठ मिलिमिटर वर्षा भएको छ। यस्तै अर्घाखाँचीमा ७२ दशमलव पाँच, दाङको पदमपुरमा ७२ दशमलव दुई मिलिमिटर पानी परेको छ । अन्य अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।