मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा - Chaitanya News
  • 2026-11-15
  • 23:17:07
  • आइतबार,कार्तिक ३०, २०८३
  • मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा

    मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा डीप बोरिङ जडान गरिने घोषणा गरेका छन्।

    महोत्तरीको मटिहानी नगरपालिका–८ विग्ही नदीमाथिको पुल र वडा ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा रेका हुन् यस्तै उनले पानी नपरेर सिँचाइ र खानेपानीको संकट झेलिरहेको मधेश प्रदेशमा तत्कालै पाँच सय वटा डीप बोरिङ जडान गरिने बताए।

    हेलिकप्टरमार्फत तराई–मधेशको अवलोकन गरेका प्रधानमन्त्रीले धेरै जमिन सुक्खा देखिएको भन्दै मधेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार पक्षसँग छलफल तथा समन्वय गरी जतिसक्दो छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

    सम्बोधनका क्रममा उनले मधेश प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको तर बाँकी सात वटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको बताए।

    प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रूपमा प्रभावितलाई विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।