काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सिंहदरवारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको छ । यो सय दिनको अवधिमा उनले सरकार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताएका छन्।
आज (बिहीबार) सिंहदरवारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएका हुन्। उनले सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण, निर्देशिका, २०८२ स्वीकृत भइसकेको बताए।
‘सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भएको छ। नेपाल सरकारको मिति २०८१ असार ३१ को निर्णयअनुसार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको छ,’ उनले भने।
हराएका ६ हजार ५ सय ९० जना बालबालिकाको खोजतलास गरी ५ हजार ८ सय ३१ जना र बेवारीस फेला परेका ३ सय ८३ जनाको उद्धार गरी ६ हजार २ सय १४ को पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गरिएको बताए।
भारतका विभिन्न ठाउँमा बेवारीस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनर्स्थापना गरिएको उनले जानकारी दिए।
‘हराएका ६५९० जना बालबालिकाको खोजतलास गरी ५८३१ जना र बेवारीस फेला परेका ३८३ जनाको उद्धार गरी ६२१४ को पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गरिएको छ। भारतका विभिन्न ठाउँमा बेवारीस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनर्स्थापना गरिएको छ,’ उनले जानकारी गराए।
जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको र २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको बताए। मन्त्री सुडीका अनुसार बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ।
‘जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको छ। २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको छ। बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ,’ मन्त्री सुडीले अघि भने, ‘गत आवमा मन्त्रालयको कुल बजेट १ अर्ब ३० करोड ३२ लाख ७५ हजार ६ सय ८ मध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भई जम्मा ५०।१६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।