काठमाडौं– बानेश्वर संसद भवनपछाडीको व्यस्त सडक। त्यसको क्षेवैमा छन् महेन्द्र । उनी विगत ४० वर्षदेखि त्यही सडक पेटीमा जुत्ता चप्पल सिलाउने काम गर्दै आएका छन्।
महेन्द्रको परिवार पाल्ने जोही त्यही पेसा हो। चप्पल सिल्न छोडेको दिन उनको चुलोमा आगो बल्न सक्दैन। त्यसैले बानेश्वरको सडक पेटीमा पसिना बेचेर उनी खुसी किनिरहेका छन्।
महेन्द्रको घर सर्लाही हो। उनी ४० वर्षअघि जुत्ता सिउने सपना बोकेर काठमाडौं आएका थिएनन्। उनी अन्य कुनै पेसामा भविश्य खोजिरहेका थिए। गाउँमा उनको परिवारलाई बिहान–बेल्का छाक टार्न धौधौ थियो।
काठमाडौं आएका उनले यो सहरलाई सोचे जस्तो पाएनन्। यहाँ पनि बिहान बेलुका चुलो बल्न असहज भएपछि ज्याला मजदुरी गर्न थाले। महेन्द्र पिठिउँमा ठूला ठूला भरी, बालुवा, गिट्टी बोक्ने काम गर्न थाले। उनलाई त्यो काम गर्न सहज भएन। दिननभरी बालुवा गिट्टीको काम गर्नुपर्ने तर साहुले तलब समयमा नदिने। आफूले दिलो ज्यानले गरेको कामको तलब पनि भिक मागे झैँ गर्नु पर्ने। मैले केही वर्ष पेट पाल्नकै लागि त्यो काम गरे। तर, पछि छोडेँ, उनले भने।
उनी एक दिन सबेरै उठेर नयाँ कामको खोजीमा निस्केको थिए। बाटोमा हिँड्दै गर्दा चप्पलको तुना चुडियो। काम खोज्न जान छोडेर घर गए र आफ्नो चप्पल सिलाए। त्यही बेला मैले यो अरुको घरमा ज्याला मजदुरी गर्नुभन्दा चप्पल जुत्ता सिलाउने काम गर्नुपर्छ ठानेँ। यो काम गरे छाक टार्न कसो नसकिएला ररु भन्ने मनमा पलायो। त्यसपछि मैले जुत्ता चप्पल सिउने र पोलिस गर्ने काम गरेको हुँ। हेर्दा हेर्दै ४० वर्ष वितिसकेछ, उनी भन्छन्।
यो काम थालेपछि उनको दैनिकी सोचेभन्दा सहज भयो। छाक टार्न मुस्किल भएन। त्यसैले ४० वर्षदेखि उनलाई काम फेर्छु भन्ने सोच नै पलाएन। बिहेको लगनको समयमा बाजा बजाउन जान्छु। अरु बेला यहीँ जुत्ता चप्पल सिलाउने काम गर्छु, उनले भने। आफ्नो पौरख र मेहेनतले सुरु गरेको काममा उनी सन्तुष्ट छन्, सुखी देखिन्छन्।
स्वदेशमै परिवारसँग बसेर गरिने कुनै पनि काम सानो ठूलो नहुने उनको बुझाइ छ। तर, पछिल्लो समय महँगी बढ्दा र व्यापार घट्दा उनलाई चिन्ता लाग्न थालेको छ।
पहिले जुत्ता चप्पल सिलाएर दैनिक ८ देखि १० हजार रुपैयाँसम्म कमाई हुन्यो। अहिले दैनिक २–३ हजार मात्रै कमाइ हुन्छ। तर, आफ्नो जहान पाल्न भने कुनै अप्ठ्यारो छैन, उनले भने।
६० वर्ष पुगिसकेका महेन्द्र प्रचण्ड धूप होस् वा मुसलधारे पानी, हात ठिहिर्याउने चिसो नै किन नहोस्। उनले घाम, धूलो, झरी कुनै चिजको प्रवाह नगरी ४० वर्षदेखि नयाँ बानेश्वर चोकमा निरन्तर जुत्ता चप्पल सिलाउने काम गर्दै आएका छन्।
बिहान ८ बजेदेखि साँझ अबेरसम्म जुत्ता चप्पल सिलाउन मै व्यस्त उनी धेरै मान्छेका चुडालिएका जुत्ता चप्पल सिलाएर खुट्टामा काडा, ढुंगा र चोट लाग्नबाट बचाइरहेका छन्। उनले दैनिक २० देखि २५ जोर जुत्ता चप्पल सिलाउने गरेको बताए। एक जोडी चप्पल सिलाएको १ सय रुपयाँ लिन्छन् भने एक जोडी जुत्ता सिलाएको १ सय २० देखि ५० सम्म लिने गरेको उनी बताउँछन्।
तर, उनी यतिबेला एउटा कुराले बेखुस छन्। यति दु:ख गरेर हुर्काएका सन्तानले नहेरिदिँदा उनको मन कुडिएको छ। दुई छोराका बुबा महेन्द्र छोरा साना हुँदा त्यहीँ जुत्ता चप्पल सिलार उनीहरूलाई मिठो मसिनो खुवाउन सक्रिय हुन्थे। कहिले अभाव हुन दिएनन्। तर, विडम्बना पखेटा लागेपछि अहिले तिनै सन्तानले वास्ता गर्न छोडेका छन्।
अर्को उनलाई दुस्ख लाग्ने सरकारले पनि साथ दिँदैन। सडक पेटीमा व्यापार गरेर बस्नेलाई नगरपालिकाले दुःख दिने गरेको छ। फुटपाथ मुक्त सहर बनाउनका लागि सुरु गरेको अभियान सफल पार्नका लागि काठमाडौं महानगरपालिकाले दैनिक जसो सडक पेटीका व्यापारीको सामान जफत गरेर लग्छ र जरिवानासमेत तिराउँछ।
महानगरले धेरै पटक मलाई चोकबाट लखेट्यो। जरिवाना तिर्दा पनि सामान थुतेर लग्यो। यसले मलाई धेरै नराम्रो लाग्ने गरेको छ। हाम्रा लागि कतै निश्चित ठाउँ छुट्याइदिए हामी त्यतै बसेर काम गर्थ्यो। सरकारले हाम्रो रोजीरोटी थुत्ने काम गर्नु राम्रो होइन, उनले भने। महानगरले दिनहुँ लखेट्न थालेपछि उनी बानेश्वर चोक छेउको एक पसलको कुनामा बसेर गुजारा गर्दै आएका छन्।
फुटपाथविहीन सहर निर्माण गर्ने महानगरको योजना राम्रो हो। तर, महेन्द्र जस्ता परिश्रमीको उचित व्यवस्थापनमा राज्य जिम्मेवार हुनुपर्छ।