पूर्वी नवलपरासी — नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै पूर्वी नवलपरासीको जिल्ला सदरमुकाम कावासोतीमा प्रर्दशन गरेका छन्। थारु कल्याणकारी सभाको आयोजनामा कावासोतीको डन्डमा बिहीबार दिउँसो प्रर्दशन गरिएको हो। कारागारमा रहेका चौधरी राजनीतिक बन्दी भएको बताउँदै उनका समर्थकले रिहाइको माग गरेर प्रर्दशन गरेका हुन्।
प्रदर्शनकारीहरूले चौधरी राजबन्दी रहेकाले बिनासर्त रिहा हुनुपर्ने माग अघि सारेका छन्। प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले टीकापुर घटना सुनियोजित रहेको र बिनासर्त सबै बन्दी रिहाइ हुनुपर्ने नारा लगाएका थिए।
डन्डास्थित थारु संग्रहालयबाट सुरु भएको प्रदर्शन डन्डा चोकसम्म पुगेको थियो। चोकमा आयोजित कोणसभामा थारु कल्याणकारी सभाका पूर्वजिल्ला अध्यक्ष गणेशमान महतोले रेशम चौधरीको रिहाइ अविलम्ब हुनुपर्ने माग गरे।