मनसुन सक्रिय भएसँगै देशका आठ स्थानमा पूर्ण रूपमा सडक अवरुद्ध - Chaitanya News
  • 2026-07-16
  • 16:40:08
  • बिहिबार,आषाढ ३२, २०८३
  • मनसुन सक्रिय भएसँगै देशका आठ स्थानमा पूर्ण रूपमा सडक अवरुद्ध

    मनसुन सक्रिय भएसँगै देशका आठ स्थानमा पूर्ण रूपमा सडक अवरुद्ध

    काठमाडौँ– मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भइरहेको छ।

    आज (आइतबार) मात्रै ६ वटा मुख्य राजमार्ग तथा सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको सडक विभागले जानकारी दिएको छ।

    आइतबारसम्म देशभर ८ स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन छन्। अरनिको, मेची, कोशी राजमार्ग लगायतका सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ। विभागले अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरे पनि निरन्तरको वर्षा र खोलाको बढ्दो बहावले काममा कठिनाइ भइरहेको जनाएको छ।

    आइतबार अरनिको राजमार्गअन्तर्गत दोलालघाट–खाडीचौर–कोदारी सडकअन्तर्गत सिन्धुपाल्चोकको जुरेमा बिहानै पहिरोले सडक अवरुद्ध भएको छ। यसैगरी मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा सडक खण्डअन्तर्गत हेवा खोलामा पूर्ण रूपमा अवरुद्ध बनेको छ। खोलाको बहाव घटेपछि मेशिन प्रयोग गरेर डाइभर्सन मर्मत गरिने जनाइएको छ।

    भेडेटार रवि राँके सडक धनकुटामा उपकरण तैनाथ गरी सडक खुलाउने प्रयास भएको जनाइएको छ। तानसेन–सिडी–कोरला सडक अन्तर्गत मुस्ताङको भेना गाउँमा लेदोसहितको पहिरो आएको र ब्याकहोइ मेशिन परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ।

    यस्तै कोशी राजमार्गको तुम्लिङटार–खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत सङ्खुवासभाको देउरालीमा पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ पनि एक्स्काभेटर प्रयोग गरी बाटो खुलाउने काम भइरहेको छ।

    साथै शहिदमार्गको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङलुकुम सडक खण्डअन्तर्गत रोल्पामा पानी परिरहेको र लेदोसहितको माटो आएकाले पानी रोकिएपछि कार्य सञ्चालन गर्ने साथै लेदो पन्छाउन केही समय लाग्ने जनाइएको छ।

    विभागले असार २९ गते कोशी राजमार्गको तुम्लिङ्टार–खाँदबारी–नुम–किमाथांका सडकअन्तर्गत सङ्खुवासभाको वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माण ढलानको कार्य बाँकी रहेको जनाउँदै पानीको बहाव बढेको कारण डाइभर्सन पुनर्स्थापना गर्न नसकिएको जनाएको छ। पानीको सतह घटेलगत्तै डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई जोड दिइने जनाइएको छ।

    असार २४ गते आएको बाढीले स्याफ्रुवेसी–रसुवागढी सडक अवरुद्ध भएको छ। यो सडक खुलाउने प्रयास भइरहेको समेत विभागले जनाएको छ।