काठमाडौँ– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको एक वर्ष पुरा भएको छ । आज (बुधबार) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ठकुरीले एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।
ठकुरीले ३१ असार २०८१ वन तथा वातावरण मन्त्रीमा नियुक्त भएयता मन्त्रालयमार्फत भएका कामहरूको विवरण सार्वजनिक गरेका हुन्।
मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उनको दाबी छ। मन्त्री ठकुरीले हरित अर्थतन्त्रको दिशा अवलम्बन गर्दै आवश्यक कानुनी सुधार भएको बताए।
‘काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनका लागि हामी केन्द्रित भएका छौँ। वनभित्र रहेका सुकेका तथा कुहिएका काठको उपयोग गरी वन क्षेत्रलाई सफा र काठको उपयोगलाई बढावा दिने लक्ष्य राखेका छौँ,’ उनले भने।
उनले भने, ‘यो वर्ष वन उद्यमशीलता र रोजगारीमा पनि वृद्धि भएको छ। यो वर्ष ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ।
उनले नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार गरिएको बताए।
उनले वन, वातावरण संरक्षण र जलवायु कार्य गर्नको लागि वैदेशिक अनुदानका लागि सम्झौता भएको उल्लेख गरे।
मन्त्री ठकुरीले आफ्नो एक वर्षे कार्यकाल औसत रूपमा सफल भएको दाबी गरे।
उनले हिमाली क्षेत्रका जीविकोपार्जनका लागि यार्सागुम्बाको निकासीका लागि निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए।
मन्त्री ठकुरीले मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा मन्त्रालय केन्द्रित रहेको बताए।
उनले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताए।
उनले परियोजना विकास तथा परियोजना वित्त नेपाल भित्र्याउन विशेष पहल भएको जानकारी दिए।