काठमाडौँ– सरकारले क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका औषधि चार अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि प्राप्त गरेपछि क्यान्सर उपचारमा संलग्न चार अस्पताल भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र वीर अस्पतालमा क्यान्सर रोगको औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्त केसीले बताए।
स्वास्थ्य मन्त्रालयको पहलमा वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारले ३७ प्रकारका औषधि सहयोग प्राप्त गरेको हो। स्तन, छाला, तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने औषधि नेपालका चार अस्पतालमा निरन्तर पाँच वर्षसम्म विभिन्न क्यान्सर रोगका औषधि उपलब्ध गराइने प्रशासक तथा सूचना अधिकारी डा। केसीले बताए।
कहिले आउँछ औषधि ?
सरकारले क्यान्सरका बिरामीलाई एक लाख सम्मको निःशुल्क स्वास्थ्य उपचार गराउँदै आएको छ। त्यसमा थप निःशुल्क औषधि उपलब्ध गराउन लागिएको मन्त्रालयका प्रशासक तथा सूचना अधिकारी डा। केसीले बताए।
यद्यपि सरकारले स्वास्थ्य बीमामा आबद्धलाई साउन १ देखि क्यान्सरलगायत आठ जटिल रोगहरूको उपचारका लागि दुई लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ। स्वास्थ्य बीमामा आबद्ध भएकाहरूले थप निःशुल्क रूपमा क्यान्सर रोगको औषधि यी चार अस्पतालबाट पाउन सक्नेछन्। स्वास्थ्य मन्त्रालयले क्यान्सरको औषधि प्राप्तिका लागि नीतिगत प्रक्रिया अगाडि बढाएको प्रशासक डा।केसीले बताए। ‘औषधि आउने निश्चित भयो, मन्त्रालयले औषधिका लागि प्रक्रिया अगाडि बढाइरहेको छ। औषधि आउन केही समय लाग्छ। यही दिन आउँछ भन्न अहिले सकिँदैन,’ डा.केसीले भने।
सिफारिस पत्रमा उल्लेख गर्नुपर्ने विवरणहरू
–बिरामीको नाम थर र ठेगाना र १६ वर्षमुनिका भए जन्म दर्ता र सम्पर्क नम्बर
–उपचारका लागि तोकिएको अस्पतालको सिफारिस, रोग पहिचान भएको चिकित्सकको प्रिस्किप्सनको संक्षिप्त व्यहोरा
–बिरामी विपन्न नागरिक भएको व्यहोरा खुल्ने पत्र