लोकसेवा परीक्षा बजारमा हल्ला भए जस्तो अप्ठेरो छैन : परीक्षा  ढकाल - Chaitanya News
  • 2026-06-08
  • 08:02:47
  • सोमबार,जेठ २५, २०८३
  • लोकसेवा परीक्षा बजारमा हल्ला भए जस्तो अप्ठेरो छैन : परीक्षा  ढकाल

    लोकसेवा परीक्षा बजारमा हल्ला भए जस्तो अप्ठेरो छैन : परीक्षा  ढकाल

    पछिल्लो समय युवाहरुमा लोकसेवा आयोग प्रतिको भरोसा, विश्वासा बढीरहेको छ । लोकसेवामा निष्पक्ष प्रतिस्पर्धा हुने भएकाले होला दूर दराजमा रहेका युवाहरुको समेत एकमात्रै रोजाई लोकसेवा बनेको छ । सरकारी जागिर खाने चाहानालाई साकार पार्न हजारौं परीक्षार्थीहरु परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परीक्षार्थीहरुले यो कठिन झमेलामा फस्न चाहादैनन् तर, कुनै असफल परीक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र पढीरहन्छन्, परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासील गरिछाड्छन् । त्यसो भए लोकसेवा परीक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले उपसचिवमा सिफारीस भएका उपसचिव परीक्षा  ढकालसँग गरेको संवादको सम्पादित अंश:

    1– तपाईं निजामती सेवाको जिम्मेवार तह उपसचिवमा नाम निकाल्न सफल हुनु भएको छ, यो सफलतालाई कसरी लिनुहुन्छ ?

    पहिलो पटक परीक्षामा सहभागी हुँदा अलि डराएको जस्तो महसुस भएको थियो । त्यसले गर्दा परिक्षामा राम्रो नतिजा आउन सकेन। त्यो कुराले मैले हार मान्नु हुँदैन, आफुलाई विश्वास गर्नुपर्छ  भन्ने अनुभव बटुले र अहिले उपसचिवमा सिफारीस हुन पनि सफल भए । निकै खुसी लाग्नुका साथै गर्व महसुस भएको छ ।

    2– तपाईं लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिव भइसक्नु भयो, लोकसेवा तयारी गरीरहनु भएका परीक्षार्थीलाई सफलता प्राप्तिका लागि के गर्नुपर्छ भन्ने सन्देश दिनुहुन्छ र कसरी तयारी गर्दा लोकसेवामा नाम निकाल्न सकिन्छ होला ?

    पहिलो कुरा त निरन्तर अध्ययन गर्नु पर्छ । परिक्षाको समयमा मात्रै तनाव लिएर पढे लोकसेवा परिक्षामा पास भइदैन । आफ्नो वरपर के भइरहेको छ त्यो कुराको पनि जानकारीहरु लिराख्नु पर्छ । आफुलाई दोधार भएको कुरा आफुभन्दा सिनियरलाई सोधेर पढ्ने गर्दा राम्रो हुन्छ । अध्ययन गर्न छोड्नु हुँदैन ।  । पढ्नेबेला अन्त ध्यान नदिएर पढेको कुरा राम्रोसँग बुझिने गरेर पढ्नु पर्छ । । आत्मविश्वासका साथ पढ्नु पर्दछ । पहिलो पटकमा त कोहि सफल होला कोहि असफल होला तर निरन्तर असफलपछि सफलता अवश्य मिल्नेछ ।

    3– पढाईको सुरुवात कसरी गर्दा सहज हुन्छ ?

    मैले पढाईको सुरुवात गर्दा पाठयक्रमहरुबाट सुरु गरेको हो । पाठयक्रममा के छ ? मैले के पढ्दा राम्रो हुन्छ ? भन्ने कुराहरु आफुभन्दा सिनियरहरुसँग पनि सल्लाह लिए र सिनियरहरुको सल्लाह बमोजिम आफ्नो विषयसँग सम्बन्धित  एउटा किताव लिएर त्यहीँ बाट पढाईकको सुरुवात गरेको थिए । पढ्दै जाँदा आफुलाई के पुगेन जस्तो लाग्छ ? त्यो पनि खोजेर पढ्ने गर्नु पर्छ । किताबमा पढेका कुराहरुलाई आफ्नै तरीकाले नोटहरु बनाएर पढ्दा राम्रो हुन्छ ।

    4– पुस्तकको छनोट कसरी गर्ने ?

    मैले यहीँ किताब पढ्छु यहीँ नै मेरा लागि राम्रो हो भनेर पढेको होइन । सबै किताबहरु पढ्दै गए पछि आफुलाई राम्रो लागेको किताबबाट पढाईको सुरुवात गरेको हो । त्यसलाई मात्रै पढेर त परीक्षा दिएको होइन। त्यसलाई आधार बनाएर अरु पाठयक्रमहरु पनि आफै खोजेर पढ्ने गरेको थिए । अर्को लोकसेवाले तोकेको पाठ्यक्रमलाई आधार बनाएर त्यो सँग सम्बन्धित बजारमा पाइने पुस्तकहरु, विभिन्न इन्च्यूचटहरुबाट प्रकाशन हुने किताबहरु र विभिन्न आदरणीय लेखकहरुका आर्टिकलहरु, लेख रचनाहरु पढ्ने बानिको पनि विकास गर्नु पर्छ ।

    5–दिमागमा बस्ने गरी पढ्नका लागि उपयुक्त समय कुन हुन सक्छ ?
    पढ्ने सबैको आ–आफ्नो समय हुन्छ । कसैलाई रातिको समयमा पढ्न ठिक लाग्छ भने कसैलाई बिहान चाँडै उठेर पढ्न ठिक लाग्छ होला । मलाई चाहीँ बिहान ७ बजे दखि बेलुकी ७ बजेसम्म जति बेला पढ्दा पनि राम्रो लाग्थ्यो । म दिउसोको समयमा नै अध्ययन गर्थे ।

    6–पढेको कुरा कसरी सम्झने ?

    पढेको कुरा सम्झनलाई लेखेर पढ्ने गर्नुपर्छ । लेखेर पढ्दा पढेको कुरा दोहोरीन्छ र अलि छिटो याद हुने हुन्छ । दोहोर्याएर पढ्ने र पढेको विषयबस्तुलाई बुँदागत रुपमा टिपेर पढ्दा राम्रो हुन्छ । पढेको विषयबस्तुमा रुचि लगाएर पढ्नु पर्छ । पढ्दा सम्बन्धित विषयबस्तुका सन्दर्भ सामाग्री अध्ययन गर्दा सारसंक्षेपमा बुझेर बुँदागत टिपोट गरि पढाई र लेखाइलाई संगठित बनाउनु पर्दछ ।

    7– अरु भन्दा भिन्न र उत्तर लेखनी राम्रो कसरी बनाउँन सकिन्छ ?

    पढ्दाखेरी त सबैले जे पढेको छ त्यहीँ नै पढ्ने हो । तर लेख्दा खेरी आफुलाई सहज लाग्ने तरीकाले लेख्दा राम्रो हुन्छ । म न्याय पालिकामा काम गर्थे त्यता मैले गरेको काम म आफैले पनि राम्रो सँग हेर्ने गरेको थिए । जसले गर्दा मलाई आफ्ना कमी कम्जोरीहरु पत्त लागन सजिलो हुन्थ्यो । प्रश्न बुझेर मात्रै उत्तर लेख्नु पर्छ  । हतार गर्नु हुँदैन ।

    8– लिखित परीक्षामा कस्तो लेखनशैली अपनाउँदा राम्रो नम्बर प्राप्त गर्न सकिन्छ ?

    मैले चाहीँ लिखित परीक्षामा अङ्ग्रेजी भाषामा लेखेको थिए । तर सबैले अङ्ग्रेंजीमै लेख्नुपर्छ भन्ने हुँदैन । आफुलाई जुन भाषामा लेख्न सजिलो लाग्छ त्यहीँ भाषबाट लेख्नुपर्छ । धेरै लामो उत्तर लेख्नु हुँदैन । प्रश्नलाई बुझेर प्रश्नले मागेको जति उत्तर मात्रै लेख्नु पर्छ । लिखित परिक्षामा छोटो पृष्ठभूमि, बिचको भागमा प्रश्नले मागेको विषयबस्तु र अन्तिममा राम्रो हुनेगरि निषकर्ष लेख्दा राम्रो हुन्छ ।

    9– बुँदागत वा विश्लेषणात्मक कुन उत्तर राम्रो मानिन्छ  ?

    म त बुँदागत उत्तर नै लेख्ने गर्थे । धेरै जसो बुँदागत र केहीँ विश्लेषणात्मक हुँदा राम्रो हुन्छ होला । लेखाई छिटो छरिटो पनि हुन्छ । यसो गर्दा समय व्यवस्थापन गर्न पनि सजिलो हुन्छ ।

    10–उत्तरको खण्ड विभाजन कसरी गर्ने ?

    उत्तरको खण्ड विभाजन प्रश्न हेरर हुन्छ । कति प्रश्नहरु छन् । त्सलाई आधार मानेर लेख्नुपर्छ । सबै कुराहरु समेटिने गरेर लेख्नुपर्छ ।

    11– समय व्यवस्थापन कसरी गर्दा सहज गर्ने ?

    समय व्यवस्थापन भनेर यो समय पढाईको लागि भनेर त मैले छुट्याएको थिइन । जति वेला फुर्सद हुन्छ त्यहीँ बेला नै पढ्ने हो । म पनि फुर्सद भएको समयमा नै पढ्ने गर्थे । तर समय भएन भनेर पढाईलाई चाहीँ रोक्नु हुँदैन । निरन्तर रुपमा पढी रहनु पर्छ ।

    12– कतिपयलाई आफ्नो अक्षर राम्रो नभएकोमा तनाव हुन्छ भने,कतिपयले राम्रो अक्षर भएकै कारण परीक्षामा नम्बर राम्रो पाउने विश्वास पनि गरीरहेका हुन्छन् । अक्षर र शुदfशुद्धीले नतिजामा फरक पार्छ कि पादैन ?

    मेरो आफ्नै अक्षर राम्रो छैन । परीक्षामा पनि खासै राम्रो अक्षर चाहीँ लेख्न सकिन । तर अक्षर राम्रो नभए पनि हेर्दाखेरी सफा र बुझिने हुनुपर्छ । लेख्दा धेरै केरमेट गर्नु  हुँदैन, त्यसले गर्दा अक्षर राम्रो भए पनि या प्रश्नको सहि उत्तर दिएको भएपनि नम्बर काटिने सम्भावना हुन्छ । अक्षर राम्रो बनाउँछु भनेर अक्षर मै ध्यान दिनु हुँदैन ।

    13– अन्त्यमा लोकसेवा तयारी गरीरहनु भएका परीक्षार्थीलाई के भन्न चाहानुहुन्छ ?

    लोकसेवा परीक्षा बजारमा हल्ला भए जस्तो अप्ठेरो छैन । डराउनु पदैन् । सुरु मै हरेस खानु हुँदैन । राम्रोसँग निरन्तर मिहेनत गरेर पढ्नुपर्छ । जस्तोसुकै परीक्षामा पनि सफल भइन्छ । समााजिक सञ्जालमा एकै पटक धेरै ठाउँमा नाम निकाले जस्ता हल्लाहरु आउँछन् त्यस्ता हल्लाको पछि नलागि आफुलाई आत्मग्लानी महसुस नगराउनु होला ।