पूर्वीय दर्शन र शक्ति–शासनको नैतिक रूपान्तरण - Chaitanya News
  • 2026-04-29
  • 15:12:21
  • बुधबार,बैशाख १६, २०८३
  • पूर्वीय दर्शन र शक्ति–शासनको नैतिक रूपान्तरण

    पूर्वीय दर्शन र शक्ति–शासनको नैतिक रूपान्तरण

    तोमनाथ उप्रेती:

    उपसचिव, नेपाल सरकार

    पूर्वीय दर्शनले शक्ति–केन्द्रित शासनलाई कर्तव्य–केन्द्रित लोक–सेवामा रूपान्तरण गर्न सत्य, कर्म र आत्मज्ञानको सन्देश दिन्छ। सत्य विना शक्ति स्वेच्छाचारमा रूपान्तरित हुन्छ, कर्ममा उत्तरदायित्व विना शासनमा भ्रष्टाचार पलाउँछ, र आत्मज्ञान विना निर्णयहरू स्वार्थमा निर्देशित हुन्छन्। पूर्वीय चिन्तनले शासनलाई तपस्या र सेवा ठान्दै शक्ति जनताको कल्याणका लागि उपयोग गर्न सिकाउँछ। शासकमा नैतिकता र दायित्वबोध आएपछि मात्र समाज अनुशासित र राष्ट्र सुदृढ हुन्छ। यसैले, पूर्वीय दर्शनमा आधारित शासन नै नेपालमा न्याय, शान्ति र समृद्धिको स्थायी मार्ग बन्न सक्छ।

    पूर्वीय दर्शन, मूलतः, मानिसलाई अहंकारको अधोगत कुण्डबाट तानेर आत्म–अवलोकनको प्रकाशमा उभ्याउने गहिरो आत्मिक अनुशासन हो। यसको मूल सूत्र “सत्यं शिवं सुन्दरम्” सांस्कृतिक घोषणापत्र मात्र होइन, यो अस्तित्वको अन्तर्यात्रामा स्वतः अनुभव गर्नुपर्ने जीवित मन्त्र हो। सत्य यहाँ केवल बाह्य स्वीकृति होइन, चेतनाको गहिराइमा अनुभूत हुने निजात्म अनुभूति हो, जहाँ भ्रमका पर्दाहरू च्यातिएर यथार्थको नाङ्गो स्पन्दन सुन्न सकिन्छ।

    पूर्वीय चिन्तन भन्छ, सत्यको अनुभूति बिना ज्ञान र कर्मका सबै प्रयत्नहरू अधुरा हुन्छन्। सत्यको प्रकाशमा मात्र कर्ममा पवित्रता आउँछ, विचारमा स्पष्टता जन्मिन्छ र हृदयमा करुणा प्रस्फुटित हुन्छ। जब सत्यको अनुभूतिमा व्यक्ति जागृत हुन्छ, ऊ आफ्नो अहंकार, लोभ, क्रोध, मोहका दुर्गन्धित छायाहरूबाट मुक्त भई आत्म–दर्शनको उज्यालोमा स्नान गर्छ। यो स्नान आत्म–शुद्धिको प्रक्रियामात्र होइन, यो जीवनलाई पवित्रताको सन्धिमा पुर्याउने आत्म–क्रान्ति हो। सत्यको अन्तस अनुभूति नै शिवत्व र सुन्दरत्वको साक्षात्कार हो, जसले व्यक्तिलाई बाह्य आडम्बरबाट मुक्ति दिँदै सच्चा जीवनको सौन्दर्यमा प्रवेश गराउँछ। यही हो पूर्वीय दर्शनको मूल र महान वाणी।

    यस दर्शनले कर्मलाई शास्त्रको पृष्ठमा लेखिएको शुष्क वाक्यांश होइन, साँस र रक्तसँगै बग्ने जीवन्त धर्म मानेको छ। प्रत्येक कर्मलाई विचारको शुद्धि, मनको स्वच्छता र आत्माको निखरिएको आकांक्षासँग जोडेर जीवनका सबै तहमा उत्तरदायित्व र ईमानदारीको न्यानो आभा दिने प्रयत्न पूर्वीय चिन्तनको आधारभूत विशेषता हो।

    नैतिकता, यहाँ, नियमको कठोर सिलसिला होइन, जीवनलाई जीवन बनाउने आत्म–सजगताको प्रतिविम्ब हो। पूर्वीय दर्शनले नैतिकताको बासस्थान हृदयमा राख्दछ, जहाँबाट सार्वजनिक जीवनका सबै क्रियाकलापहरूलाई पवित्रताको स्पर्श दिइन्छ। शासन, प्रशासन र नेतृत्व नैतिक बोधबाट शून्य भयो भने, अधिकार स्वार्थमा रूपान्तरित भई शक्ति दुरुपयोगको यन्त्र बन्न पुग्दछ।

    पूर्वीय चिन्तन भन्छ:

    “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।”

    व्यक्ति आफ्नो धर्म (कर्तव्य) प्रति जागरुक भएर कर्म गरेमा मात्र मोक्षसम्म पुग्ने बाटो खुल्दछ। कर्म–नैतिकता–आत्मज्ञानको त्रिकोणले व्यक्तिलाई केवल आफ्नो कर्तव्य स्मरण गराउँदैन, उसलाई जीवनलाई महनीय उद्देश्यमा समर्पित गर्न पनि उत्प्रेरित गर्दछ।

    आजको समाजमा अपराध, भ्रष्टाचार, विकृति र अनैतिक आचरणको महामारीले सत्तालाई मात्र होइन, समाजको मूलाधारलाई समेत क्षतविक्षत बनाएको छ। यस्ता स्थितिमा पूर्वीय दर्शनले आत्म–समीक्षा र आत्म–संयममार्फत शासन प्रणालीलाई नैतिक र पारदर्शी बनाउन सकिन्छ भन्ने साहसिक दृष्टिकोण दिन्छ। वेदको निष्कर्ष, उपनिषद्को ध्यान, गीताको कर्मयोग र बुद्धको अष्टाङ्गिक मार्गले जन–शासन सम्बन्धलाई सेवाभावमा रूपान्तरण गर्न सक्ने शक्तिशाली आधार प्रदान गर्छ।

    पूर्वीय चिन्तनले शक्ति–केन्द्रित शासन प्रणालीलाई कर्तव्य–केन्द्रित लोक–सेवा प्रणालीमा रूपान्तरण गर्ने उद्घोष गर्दछ। शक्ति यहाँ उपभोगको विषय होइन; यो जनताको हितमा खर्च गर्नुपर्ने पवित्र ऋण हो। जब शासन सेवा होइन, स्वार्थको साधन बन्छ, त्यहाँ नीति पतन र संस्थागत विघटनको बीजारोपण हुन्छ। पूर्वीय दृष्टिकोणले भन्छ, सत्ता स्वयंमा पुण्य वा पाप होइन; यसको स्वरूप शासकको चेतनास्थर र कर्तव्य–बोधमा निर्भर रहन्छ।

    लोक–सेवा पूर्वीय चिन्तनमा तपस्या जस्तै हो, जहाँ जनताको पीडा महसुस गरी सेवा गर्नु नै सच्चा नेतृत्वको प्रमाणित मार्ग हो। यो दृष्टिले सार्वजनिक पदलाई व्यक्तिगत लाभको खुड्किलो होइन, जन–कल्याणको व्रतस्थ संकल्प बनाउँछ। जब शासक आफ्ना निर्णयका केन्द्रमा व्यक्तिगत स्वार्थ होइन, जन–कल्याण र उत्तरदायित्वको आत्मिक भावना राख्छ, त्यतिबेला शासन व्यवस्थामा जीवन्तता, विश्वास र पारदर्शिता प्रस्फुटित हुन्छ।

    पूर्वीय चिन्तनले हरेक शासकलाई सम्झाउँछ—तपाईंको शक्ति तपाईंको होइन, जनताको आस्थाले अर्पित गरिएको हो। त्यसैले यस शक्ति–साधनलाई जनताको भलोमा खर्च गर्नाले मात्र शासनको आत्मा पवित्र रहन्छ, र राष्ट्रलाई सुसंस्कृत, समृद्ध र न्यायपूर्ण बनाउँछ। यही हो शासनको चरम सदाचार।

    आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर शान्ति, समृद्धि र न्यायको आकाङ्क्षा गरिरहेको छ। तर शान्ति केवल राजनीतिक दस्तावेजमा सीमित रहँदैन, यो सत्य र नैतिकताको प्रयोगात्मक अभ्यासबाट मात्र सम्भव हुन्छ। पूर्वीय दर्शन भन्छ, शासक वर्गमा असल चरित्र, पारदर्शिता, सदाचार र ईमानदारी नआएसम्म मुलुकले सुशासन र समृद्धि प्राप्त गर्न सक्दैन।

    पूर्वीय दर्शनले सत्यको वरण बिना, शासन केवल स्वार्थको अखडा रहन्छ; कर्ममा उत्तरदायित्व बिना, शक्ति स्वेच्छाचारिता र भ्रष्टाचारमा पतित हुन्छ; नैतिकता बिना, कानुनी शासन कागजी नारामा सीमित रहन्छ; र आत्मज्ञान बिना, व्यक्तिगत र सार्वजनिक जीवन असन्तुलित रहन्छ। सत्य, कर्म, नैतिकता र आत्मज्ञान शासनको चार आधारस्तम्भ हुन्, जसको अनुप्रयोग विना शासकीय व्यवस्था दिगो, न्यायपूर्ण र उत्तरदायी हुन सक्दैन। शक्ति जब सत्यको सेवक बन्छ, तब मात्र शासन जन–कल्याणको मार्गमा अग्रसर हुन्छ। शक्ति जब न्यायको पालक बन्छ, तब शासकीय नीतिहरूमा जनताको भरोसा पलाउँछ। र जब नीति नैतिकताको प्रेरक बन्छ, तब सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिताको उज्यालो फैलिन्छ।

    “यथा राजा तथा प्रजा”—पूर्वीय दर्शनको यो सत्तको वाणी केवल चेतावनी होइन, राष्ट्रको भावी दिशाको घोषणापत्र हो। जब शासकमा नैतिकता, दायित्व–बोध र सत्य–आधारित निर्णय–क्षमता पलाउँछ, तब जन–मानस अनुशासित र सजग बन्न पुग्दछ। अनुशासित र सजग नागरिक समाजले कानूनको पालना र सार्वजनिक सम्पत्तिको संरक्षणलाई आफ्नो कर्तव्य सम्झिन्छ। जब समाजमा अनुशासन पलाउँछ, तब राष्ट्र सामाजिक शान्ति, आन्तरिक सद्भाव र आर्थिक समृद्धिको यात्रामा दृढताका साथ अघि बढ्छ। समाजको अनुशासन भनेको केवल कानुनी दण्डको डर होइन, आन्तरिक मूल्य–बोध र आत्म–नियन्त्रणको अभ्यास हो, जसको उत्प्रेरणा शासक वर्गको आचरणबाट सुरु हुन्छ।

    यसैले, आजको नेपाली शासन व्यवस्थामा पूर्वीय दर्शनको जीवन्तता भर्नु कुनै वैकल्पिक बौद्धिक विमर्श मात्र होइन, राष्ट्रको समृद्धि, सामाजिक न्याय र जनताको स्वतन्त्रता सुरक्षित गर्ने अपरिहार्य मार्गदर्शन हो। पूर्वीय दर्शनले राज्यलाई अधिकार–आधारित भन्दा कर्तव्य–आधारित बनाउँछ। शक्ति–केन्द्रितभन्दा सेवा–केन्द्रित बनाउँछ । स्वार्थ–केन्द्रितभन्दा न्याय–केन्द्रित बनाउँछ। सत्य, कर्म, नैतिकता र आत्मज्ञानको सुदृढ आधारमा उभिएको शासन मात्र सुसंस्कृत, पारदर्शी, सहभागी र भ्रष्टाचार–मुक्त प्रशासनको मार्ग प्रशस्त गर्न सक्षम हुन्छ। त्यसैले, नेपाली शासन व्यवस्थाले पूर्वीय दर्शनलाई आत्मसात् गरी शक्ति र सेवा बीचको सम्बन्धलाई नयाँ आयाम दिनुपर्दछ, जसबाट राष्ट्रमा शान्ति, जन–कल्याण र समृद्धिको स्थायी युग आरम्भ हुनेछ।