दक्षिण कोरियामा रहेका नेपाली श्रमिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न आग्रह - Chaitanya News
  • 2026-06-16
  • 17:43:10
  • मंगलबार,आषाढ ०२, २०८३
  • दक्षिण कोरियामा रहेका नेपाली श्रमिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न आग्रह

    दक्षिण कोरियामा रहेका नेपाली श्रमिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न आग्रह

    काठमाडौँ– दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य संरक्षण तथा स्वास्थ्य सेवामा सहज पहुँचको विषयमा नेपाल सरकारले चासो व्यक्त गरेको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत बीच मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उक्त विषय उठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

    भेटवार्तामा मन्त्री मेहताले दक्षिण कोरियामा रोजगारीका लागि गएका नेपाली नागरिकको स्वास्थ्य सुरक्षा सुदृढ बनाउन तथा आवश्यक स्वास्थ्य सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न विशेष पहल आवश्यक रहेको धारणा राखेकी थिइन्।

    मन्त्रालयका अनुसार राजदूतले नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा दक्षिण कोरिया सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी र उपलब्धिमूलक ढंगले अघि बढाउने विश्वास पनि व्यक्त गरिएको जनाइएको छ।

    भेटका क्रममा नेपाल र गणतन्त्र कोरिया बीच स्वास्थ्य क्षेत्रको साझेदारी तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो।

    स्वास्थ्य बीमा प्रणालीको विकास, स्वास्थ्यकर्मीको सीप तथा क्षमता अभिवृद्धि, स्वास्थ्य पूर्वाधार विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने पहल, स्वास्थ्य पर्यटनको प्रवर्द्धन तथा जडीबुटी र औषधिजन्य उत्पादनका क्षेत्रमा सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।