विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन वैदेशिक रोजगार विभागको निर्देशन - Chaitanya News
  • 2026-06-16
  • 17:19:41
  • मंगलबार,आषाढ ०२, २०८३
  • विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन वैदेशिक रोजगार विभागको निर्देशन

    विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन वैदेशिक रोजगार विभागको निर्देशन

    काठमाडौँ– वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ।

    विभागले सम्बन्धित मेनपावर कम्पनीहरूलाई पत्र पठाउँदै २०८२ चैत १ गतेदेखि हालसम्म संस्थागत श्रम स्वीकृतिका आधारमा विदेश गएका कामदारको विवरण अनिवार्य रूपमा पेश गर्न भनेको हो ।

    वैदेशिक रोजगारीसम्बन्धी कानुनी व्यवस्थाअनुसार कामदारलाई स्वदेशकै विमानस्थल प्रयोग गरी वैदेशिक गन्तव्यमा पठाउनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै विभागले त्यसको कार्यान्वयन अवस्थाको विवरण संकलन गर्न लागेको जनाएको छ।

    निर्देशनअनुसार प्रत्येक कामदारको नाम, राहदानी विवरण, श्रम स्वीकृति प्राप्त भएको मिति, प्रस्थान मिति, प्रयोग गरिएको विमानस्थल तथा गन्तव्य मुलुकसहितका विवरण तोकिएको ढाँचामा बुझाउनुपर्नेछ।

    विभागले मागेको तथ्यांकले वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थान प्रक्रिया, कानुनी पालना र संस्थागत श्रम स्वीकृतिको अनुगमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।