परराष्ट्र मन्त्री डा.आरजु राणा इटली र जर्मनी भ्रमण गरी स्वदेश फिर्ता - Chaitanya News
  • 2026-11-16
  • 01:12:16
  • आइतबार,कार्तिक ३०, २०८३
  • परराष्ट्र मन्त्री डा.आरजु राणा इटली र जर्मनी भ्रमण गरी स्वदेश फिर्ता

    परराष्ट्र मन्त्री डा.आरजु राणा इटली र जर्मनी भ्रमण गरी स्वदेश फिर्ता

    काठमाडौँ– परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट स्वदेश फर्किएकी छन्।

    रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्री स्तरीय कन्फ्रेन्समा सहभागी भएकी मन्त्री राणा उतैबाट जर्मनी गएर आज (शुक्रबार) स्वदेश फर्किएकी हुन्।

    २८ जुनदेखि ४ जुलाईसम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै यसका दौरानमा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई मन्त्री राणाले सम्बोधन गरेकी थिइन्।

    सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रूपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरुले आधार प्रदान गरेको बताइन्।

    खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीति मार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणको माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा। राणाले बताइन्।

    अतिकम विकसित, साना टापू राष्ट्रहरू तथा भूपरिवेष्ठित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषणका सम्बन्धमा धारणा राख्दै मन्त्री राणाले नेपाल लगायत यी देशहरूले जलवायु परिवर्तनको क्षति व्यहोरिरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन्।

    नेपाल र योजस्ता भू–बनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान दिइनुपर्ने माग पनि राखेको मन्त्री राणाको सचिवालयले जनाएको छ।