काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार पनि वर्तमान पाँच दलीय गठबन्धनकै बन्ने बताएका छन् ।
बुधबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारी बैठकमा अध्यक्ष दाहालले अहिलेकै गठबन्धनले निरन्तरता पाउने उल्लेख गरे । अध्यक्ष दाहालले सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसको संसदीय दलको नेता चयन भएपछि नयाँ सरकार निर्माणको काम तीब्र गतिमा अघि बढ्ने बताए ।
‘सरकार गठबन्धनकै हुन्छ,’ उनले भने, ‘अहिले सरकार गठनको विषय चलिरहेको छ । तर नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ ।’
उनले सरकार कसको नेतृत्वमा बन्ने भनेर गठबन्धनमा रहेका दलहरुबीच अहिलेसम्म छलफल नभएको जानकारी गराए ।
तर दाहालले आवश्यक परे माओवादीले सरकारको नेतृत्व गर्नु पर्ने स्थिति पनि आउन सक्ने र त्यसका लागि पछि नहट्ने उल्लेख गरे ।