नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने - Chaitanya News
  • 2026-04-24
  • 07:26:28
  • शुक्रबार,बैशाख ११, २०८३
  • नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

    नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

    काठमाडौं-  नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् ।

    आउँदो असारसम्ममा १० पुलको निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।

    वि.सं. २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ ।

    उनले भने, “कोभिड–१९ का कारण समयमा काम सकिएन । अझै एक वर्ष लाग्ने देखिन्छ ।”

    घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको हो । समय थपका लागि फाइल विभागमा पठाइएको कार्की बताउँछन् ।

    Global bank
    विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । चार पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने भएकाले आउँदो पुस ५ गतेदेखि दिउँसोमा सडक बन्द गरी काम गर्न लागिएको छ ।

    सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माण गर्दा सडकको भित्तो काट्नुपर्ने भएको छ । भौगोलिक रूपमा असहज ठाउँमा रहेका कारण सवारी आवागमन रोक्नुपरेको हो ।

    कार्कीका अनुसार विश्व बैंकको ऋण सहयोग भएकाले सडकछेउमा बसोबास गर्नेको व्यवस्थापन अर्काे चुनौती छ । त्यहाँबाट हटाउँदै गर्दा घरटहरामा बसोबास गर्नेलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

    उनका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने हुन्छ । जसका लागि एक करोड रुपैयाँ बजेट माग गरिएकामा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम रोकिएको छ ।

    असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनी बताउँछन् । तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ ।

    तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले जानकारी दिए । सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ ।

    ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् ।

    प्याकेज–१ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँ छ । पुल र नक्सांकनका लागि मात्र ५८ करोड ४० लाख रुपैयाँ छ भने अरू रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायत कार्यमा खर्च हुने आयोजनाले जनाएको छ ।

    दोस्रो प्याकेजको कुल ठेक्का रकम ५९ करोड पाँच लाख रुपैयाँमध्ये नक्सांकन र पुलका लागि ४९ करोड ६० लाख रुपैयाँ हो भने बाँकी रकम अरू काम गर्ने गरी ठेक्का लगाइएको हो ।

    दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ । पुलको गाडी हिँड्ने ठाउँ ७.५ मिटर फराकिलो हुनेछ । दुवैपट्टि १.५ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्ट्याइएको छ । रासस