काठमाडौँ– राष्ट्रिय सभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनर्स्थापनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आज (मंगलबार) राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशभर बाढी पहिरोको जोखिम रहेको उल्लेख गर्दै पूर्वसूचना पाउँदा पनि विपद् न्यूनीकरणका लागि तयारी कमजोर भएको बताइन्। नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबारे पूर्वसूचना पाउँदा पनि आवश्यक सतर्कता नअपनाइएको उनको भनाइ थियो।
यस्तै सांसद राजेन्द्रलक्ष्मी गैरेले भोटेकोशीको बाढीमा परी केही व्यक्ति बेपत्ता रहेको, रसुवागढी नाकामा नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको, भन्सार यार्डमा राखिएका सवारीसाधनलगायत मालवस्तु बगाएको विषय उल्लेख गर्दै उद्धारलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन्। सरकार जनताप्रति संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।
सांसद विष्णुबहादुर विश्वकर्माले अफगानिस्तानमा महिला अधिकार गम्भीर रूपमा हनन भइरहेका धारणा राख्नुहुँदै नेपालले यस विषयमा बोल्नुपर्ने बताए।
सांसद दुर्गाकुमारी गुरुङले बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमणको जोखिम बढेको र नागरिकले दुःख पाइरहेको विषय संसद्मा उठाइन्।