–निर्मला कडायत
– जेठ २५ मा बानेश्वरस्थित मिनभवन तिनकुने सडक खण्ड जाने बीचबाटोमै भ्वाङ परेको थियो।
– २०८२ साउन १६ मा पुराने बानेश्र चोकबाट सिनामंगलतर्फ जाने बाटोमा पाइप फुटेर सडकमा भ्याङ परेको थियो।
– २०८१ असार १९ मा सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदै गर्दा नयाँबजारमा बनेको खाडलमा एक मोटरसाइकल नै खस्यो। मोटरसाइकल चालक जसोतसो निस्किए। करिब ३ घण्टा लगाएर काठमाडौं महानगर र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले ११ फिट गहिरो खाल्डोबाट मोटरसाइकल निकाल्यो।
– २०८१ साउन २४ काठमाडौंको दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीचबाटोमै भ्वाङ परेको थियो। त्यो भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको थियो। टुकुचाको कल्भर्ट जीर्ण भई सडक भासिएको सडक डिभिजन काठमाडौंले जनाएको थियो। त्यहाँ ५ मिटर गहिराइ र ४ मिटर चौडाइको भ्वाङ परेको थियो।
– २०८१ असार १९ गते नयाँबजारमा बनेको ११ फिट गहिरो खाडलमा मोटरसाइकल नै खस्यो। उक्त खाडलबाट निकै मुस्किलसँग मोटरसाइकल चालक उम्किए। मोटरसाइकल निकाल्न भने महानगर र सशस्त्र प्रहरी बलको उद्धार टोली नै खटिनुपर्यो।
– २०८१ साउन ३० गते ललितपुरको इमाडोलतर्फ जाने सडकमा भ्वाङ पर्यो। उक्त सडक झन्डै चार मिटर भासिएको थियो।
माथिका केही प्रतिनिधि घटना मात्र हुन्। पछिल्लो समय काठमाडौं उपत्यकामा सडक भासिने क्रम बढ्दो छ। यस्ता घटनाले सडक यात्रा जोखिमपूर्ण बन्दै गएको जानकारहरू बताउँछन्।
काठमाडौं उपत्यकाको माटोको तह कमजोर रहेको, लगातारको झरीले माटो खुकुलो बनाई बगाएर लैजाने र जमिन भासिने समस्या देखापर्ने गरेको सडक विभागका महानिर्देशक डा. बिजय जैसी बताउँछन्।
‘जमिन दरार परेको वा भासिएको बेला भूकम्पको सामान्य धक्का मात्र आयो भने जमिन विस्तारै बगेर जाने ‘स्लाइड फ्लोडिङ’ हुन्छ,’ उनले भने, ‘ठोस माटो पनि खुकुलो हुने, सर्ने र झन् भासिने समस्या हुन्छ। त्यसैले भासिएको जमिन मात्र नभई नजिकै रहेका राम्रो जमिनलाई पनि बगाएर लान सक्छ।’
सडकमा भएको खाल्डाखुल्डीबीच यात्रा गर्दा स्वभाविक रूपमा जोखिम निम्त्याउने उनी बताउँछन्। बर्खाको सिजनमा भूकम्प गयो भने जमिन खुकुलो भएर भत्किएर जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन उनको सुझाव छ। उनका अनुसार उपत्यकाको सतह बालुवाको मिश्रणले बनेको भएकाले वर्षामा जमिनभित्र सजिलै पानी पस्दा माटो बगेर जाने समस्या छ।
‘मुख्य पानीले गर्दा माटो बगाउने हुन्छ । वर्षाको पानी मात्र नभई जमिनमुनि भएका पाइपको पानी लिकेज हुँदा माटो बगाएर लैजाने अनि ठूलो खाल्डो पर्ने र भासिने गर्छ, एउटै कारणले मात्र सडक भासिने भन्ने हुँदैन,’ उनी भन्छन्।
काठमाडौंको सडक नाजुक रहेको विषय उठ्दा सडक हेर्ने जिम्मेवारी लिएका निकायहरू एकअर्कालाई दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्ने गरेका छन्। ती संस्थाका अधिकारीहरू आफ्नो जिम्मेवारीमा रहेका सडकहरूमा समस्या नरहेको दाबी गर्न गर्दै आएका छन्।